नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामाकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो ।
माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । वि.सं २०७० मा निर्माण सुरु गरिएको पुल वि.सं २०७९ मा सम्पन्न भएको थियो । चितवनतर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन ।
करिब ५ सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना–मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । ६ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ ।
यसअघि चितवन तर्फ बाटो नभएको र नवलपुर तर्फबाटसमेत वाल्मीकि आश्रम पुग्ने बाटो थिएन । जसले गर्दा त्रिवेणीस्थित गण्डक बाँध पार गरी भारतको वाल्मीकि नगर र वाल्मीकि टाइगर रिजर्भ हुँदै वाल्मीकि आश्रम पुग्नुपर्ने बाध्यता थियो । नेपालको धार्मिकस्थल भारतीय बाटो हुँदै जानुपर्दा दूरी र समय धेरै लाग्ने गरेको थियो ।
अबदेखि वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने अवस्थाको अन्त्य भएको नवलपुरका पूर्वसांसद तिलक महतले बताए । नेपाली धार्मिक पर्यटक देशकै बाटो हुँदै पुग्न सकिने उनले बताए । महत्वपूर्ण धार्मिकस्थल वाल्मीकि आश्रम झोलुङ्गे पुलले जोडिँदा यसको विकास, संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।
पुल सञ्चालन भएपछि विनयी त्रिवेणीस्थित त्रिवेणी धाममा चहलपहल बढ्ने विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । ‘पुल निर्माण भएर सञ्चालन नहुँदा हामी चिन्तित थियौँ, पुल सञ्चालन गर्न पटक–पटक पहल गर्यौँ , अब हामी हाम्रो भूमिबाट वाल्मीकि आश्रम जान पाउने भएका छौँ, हाम्रो पहलले सार्थकता पाएको छ’, अध्यक्ष गिरीले भने ।
वाल्मीकि आश्रम धार्मिक तथा पौराणिक महत्व बोकेको क्षेत्र हो । सीताले लामो समय बिताएको, सीता पाताल प्रवेश गरेको, लव–कुशको जन्मथलो र रामायण काव्यको रचना भएको स्थल, वाल्मीकि आश्रम आफैंमा ऐतिहासिक धार्मिकस्थल भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रश्वर भुसाल छन् ।
वाल्मीकि आश्रम र त्रिवेणीलाई झोलुङ्गे पुलले जोडेपछि धार्मिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।