नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनुपर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए ।
उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ, एक रुपैयाँ पनि छाड्न पाइँदैन । सरकारका निकायलाई पनि निर्देशनअनुसार काम गर्नुपर्छ । विधिको शासनमा चल्नुपर्छ । सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ– बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिदैनौँ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनुपर्छ ।’
यसको साथै, उनले संघीयतालाई यो भन्दा थप प्रभावकारी बनाउनुपर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले संसदसम्म ल्याउँछौँ, तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुँदा महिला छुटाइहाल्छौँ । हामी जुनसुकै पार्टीको होस् दलित छुट्याइहाल्छौँ । योभन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नुभयो, तर उहाँकै मन्त्रिमण्डलमा हामीले दलित छुटायौँ । हामी यतिसम्म गर्छौं कि दुईवटा पार्टी मिलेर गठबन्धन गर्दै गर्दा राष्ट्रपति र उपराष्ट्रपति दुईजना नै पुरुष बनाउँछौँ । गाउँपालिकामा मौका मिल्नासाथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ । प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई योभन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो ।’
उनले रास्वपाले ०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउँदा हुने बताए ।
उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन ? अहिले रास्वपाको त दाबी छ ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढार्छौं । ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउने ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।