नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रूपमा विश्वमा आइरहेको र त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित अन्तरपुस्ता संवाद फोरममा बोल्दै उनले छिमेकी मुलुक बंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर भएर मात्र सबैमा आग्रह गरे ।
‘छिमेकी मुलुक बंगलादेश जहाँ दुईतिहाइको सरकार थियो । अचानक घटना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिँड्नुपर्ने अवस्था आयो,’ उनले भने, ‘यसलाई सामान्य घटनामा लिन मिल्दैन । ऋण लिएर चालू खर्च चलाएको नेपालमा त यो सामान्य नै मानिएला । बंगलादेशमा ११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनि घटना घट्यो ।’
नेपालमा कुनै पनि बेला केही हुन सक्ने दाबी गर्दै उनले भने,‘सामाजिक सञ्जाल अहिले एकदमै आक्रामक आइरहेको छ । सामाजिक सञ्जालले धेरै विसंगति पनि निम्त्याइरहेको छ । राम्रो पनि छ, तर विसंगति पनि ल्याएको छ । बंगलादेशले पनि देखाएको छ । सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा गम्भीर हुनुहोला ।’
उनले राज्यले शिक्षित र अशिक्षित दुवै वर्गको युवाहरूलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारी लिन आवश्यक रहेको बताए । उनले सरकारले गर्ने लगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन भनेर खबरदारी गर्न अपिल गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।