संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
विधेयक मंगलबारको बैठकमा कानुन समितिकी सभापति विमला सुवेदीले पेस गरेकी थिइन् । तीन ठूला दल (कांग्रेस, एमाले र माओवादी) ले कार्यदल बनाएर सहमति गरेपछि विधेयक समिति हुँदै संसदमा पारितका लागि पेस भएको हो ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस, एमाले र माओवादीका नेता रहेको कार्यदल बनाएका थिए । वर्तमान सरकारले पनि यसलाई मान्यता दिएको थियो । उक्त कार्यदलमा कांग्रेसको तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेको तर्फबाट मुख्य सचेतक महेश बर्तौला र माओवादीको तर्फबाट जनार्दन शर्मा सदस्य थिए ।
सो समितिले विवादित चार बुँदामा सहमति गर्दै शीर्ष नेतालाई प्रतिवेदन बुझाएको थियो । शीर्ष नेताले सहमति दिएपछि उक्त सहमति मानव अधिकार समितिमा पुग्यो । सहमतिले सामान्य छलफलपछि विधेयकलाई पारित गरेर छलफल गरी पारित गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको हो ।
विधेयकमा आज (बुधबार) सैद्धान्तिक छलफल हुनेछ । सैद्धान्तिक छलफलपछि उक्त विधेयकलाई पारित गर्ने प्रक्रिया सुरु हुनेछ । समितिले दिएको प्रतिवेदनमा आधारित हुँदै संसदमा सांसदले आ–आफ्नो धारणा राख्ने छन् ।
विद्येयकमाथि सांसदले उठाएका प्रश्नमा सरकारले जवाफ दिनेछ । त्यसपछि विद्येयक विधेयक संघीय संसदको तल्लो सदनबाट पारित हुनेछ । तल्लो सदनबाट पारित भएको विधेयकलाई माथिल्लो सदन राष्ट्रिय सभामा पेस गरिनेछ ।
राष्ट्रिय सभाले पनि प्रक्रियागतरूपमा छलफल गर्दै पारित गर्ने व्यवस्था छ । दलहरूबीच सहमति भएर विधेयक अघि बढेकाले यसलाई समितिमा भने पठाइने छैन । राष्ट्रिय सभाबाट पारित भएपछि यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पेस गरिने छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक कानुनको रूपमा लागू हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।