logo-img

शिक्षामन्त्रीको निर्देशनपछि योग्यता नपुगेका विद्यार्थीको शुल्क फिर्ता गर्न चिकित्सा शिक्षा आयोग तयार

चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । 

आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारी गरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्द गरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिइन् । 

उनले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताइन् । आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो । 

यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन । तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । 

आयोगले चिकित्सा शिक्षा स्नातक तहतर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्दै छ । 





  • प्रकाशित मिति : साउन ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया