भोजपुरका पशुपालक किसान बङ्गुर पालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी १६ लाख रुपैयाँ खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गरेको बङ्गुर पालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताए ।
किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडौंसमम बिक्री हुन थालेपछि उनी उत्साहित भएका छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको उनले बताए ।
स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उनले बताए । उनले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पालेका छन् । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोसम्म हुने गरेको छ ।
खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुर पालन मात्र होइन, फलफूल खेती पनि गरेका छन् । उनको खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट पाँच लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको उनले सुनाए । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिएका छन् ।
सैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुर पालन सुरु गरेका छन् । उनले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।