उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले व्यवस्थाप्रति नकारात्मक सोच हाबी भएको भन्दै सकारात्मक विचार आवश्यक रहेको औँल्याए ।
काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले शुक्रबारदेखि आयोजना गरेको १७औं ‘केसिसी एक्जिबिट २०२४’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले समाजमा नकारात्मक कुराहरूमा मान्छेहरूले बढी समय खेर फालिरहेको बताए ।
साथै उनले यो भएन उ भएन भनेर भन्न सजिलो ठान्ने तर जिम्मेवारीमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी रहेको बताए । उनले नेपालमा पढ्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै गइरहेको र विदेशिनेक्रम बढिरहेको बताए ।
नेपालमा बसेर केही गर्छु भन्नु भावनाको विकास गर्न आवश्यक रहेको बताउँदै उनले स्वदेशमै बस्न सक्ने अवस्था सिर्जना गर्न नागरिकहरू नै उत्तरदायी भएर अधिकार संरक्षणमा जुट्नुपर्ने बताए ।
‘कस्तो खालको ऐन र नीति बनाउने हो, जनप्रतिनिधिलाई सुझाव दिनुहोला । सूचना प्रविधिको वा एआइको जमानामा आफूमा भएको सीप आदानप्रदान गर्न सक्नुपर्छ । ग्लोबल भिलेजको जमानामा देश छाडेर जानु पर्दैन,’ उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।