२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

जिपी कोइराला अस्पताललाई ३०० शय्याको बनाउन ‘डिपिआर’

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम डिपिआर तयार गरिएको हो । 


सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा तीन सय शय्या क्षमताको डिपिआर तयार गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई बुझाइएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए । 



तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।

देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरूप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको डा. श्रेष्ठले बताए । 



डिपिआर तयार नभएकाले थप काम अगाडि बढ्न नसकेको अवस्थामा अब डिपिआर तयार भइसकेकाले काम अगाडि बढ्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार अस्पताललाई एक हजार शय्याको बनाउने लक्ष्य छ । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने तयारी थालिएको छ । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।

यही साउन २१ गते तनहुँ आउनुभएका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गर्नुपर्ने बताएका थिए । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी देशकै एक मात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० ‘जनरल वार्ड’ छन्, जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले वि.सं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । 

सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व वि.सं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७ सय ४० रोपनी जग्गा प्राप्त भइसकेको छ । 



अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । उपचार केन्द्रले स्वास्थ्य सुविधा थप गर्दै लगेको छ । जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार श्रेष्ठले बताए । रासस 

  • प्रकाशित मिति : ३२ साउन, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया