छैटौँ संस्करणको २० वर्षमुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आउँदो आइतबारदेखि नेपालमा आयोजना हुँदैछ । यसपटक प्रतियोगितामा ६ देशको सहभागिता रहनेछ ।
६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत आयोजक नेपाल, बंगलादेश र श्रीलंका समूह ‘ए’ तथा भारत, माल्दिभ्स र भुटान समूह ‘बी’ मा रहेका छन् । नेपालले समूह चरणमा भदौ २ मा श्रीलंका तथा ६ गते बंगलादेशको सामना गर्नेछ । प्रतियोगिताका लागि प्रशिक्षक उर्जन श्रेष्ठले कुशल देउवाको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।
टिममा परेका कुशलसहित गोलकिपर जियारथ शेख, डिफेण्डर सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, मिडफिल्डर निनसाङ लिम्बू, अविनाश स्याङ्तान, लक्षु थापा, फरवार्ड हरिशराज भट्ट, अनिल बम्जन, समीर तामाङ र निराजन धामीले गत वर्ष भएको साफ यू–१९ च्याम्पियनसमेत खेलेका थिए । तीमध्ये कुशल, निराजन, अश्विन, हरिससँग गत वर्ष नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव पनि छ ।
यू–२० साफ खेल्न लागेका समीर तामाङले सिनियर टोलीबाट डेब्यूसमेत गरिसकेका छन् । उनले गत चैतमा विश्वकप छनोटअन्तर्गत बहराइनविरुद्धको खेलमा डेब्यू गरेका थिए । समग्रमा हेर्दा नेपाली यू–२० टिम बलियो देखिन्छ ।
कप्तान कुशल देउवा पनि टोली सन्तुलित रहेकाले उपाधि जित्ने सम्भावना बलियो रहेको बताउँछन्, ‘टिम राम्रो र बलियो छ । यसपटक युवा जोशसहितको अनुभवी खेलाडी छन् । गत वर्ष यू–१९ खेलेको टिमका साथै नयाँ खेलाडी टोलीमा छन् । ए डिभिजन लिग र एनएसएल खेलेको अनुभव पनि खेलाडीमा छ । उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य लिएका छौँ ।’
यसपालि साफ च्याम्पियनसिप सातदोबाटोको एन्फा कम्प्लेक्समा हुनेछ । निरन्तरको वर्षाका कारण दशरथ रंगशाला खेल्नलायक नभएपछि साफ यू–२० को समूह चरणको खेल एन्फा कम्प्लेक्समा हुने भएको हो ।
हालसम्म उमेर समूहको साफमा नेपाल दुईपटक च्याम्पियन बनेको विगत छ । नेपाली टिम सन् २०१५ मा साफ यू–१९ र २०१७ मा साफ यू–१८ मा च्याम्पियन बनेको थियो । नेपालले सन् २०१५ मा भारत तथा २०१७ मा बंगलादेशलाई हराउँदै उपाधि जितेको हो ।
नेपालले सन् २०१९ यता भने उपाधि हात पार्न सकेको छैन । गत संस्करणको साफ यू–१९ मा आयोजक नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । नेपाली टिम अब गत संस्करणको खराब प्रदर्शनमा सुधार गर्दै सात वर्षदेखिको उपाधि खडेरी तोड्ने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।