पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने समाचार निराधार भएको बताएका छन् । पार्टी फुटाउने विषयमा अनावश्यक शंका नगर्न पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनार्दनसँग आफ्नो चरण-चरणमा वार्ता भएको उल्लेख गर्दै पार्टी नफुट्ने दाबी गरे ।
उनले भने, ‘कमरेड जनार्दनले पार्टी फुटाउने कुरामा शंका छ भने त्यो शंका नगर्न म समग्र पार्टी पंक्तिलाई आह्वान गर्न चाहन्छु । पार्टी फुट्दैन भन्ने सुनिश्चित भएको छ । त्यस्तो आशंका म मा पनि थियो, तर निराधार भएको कुरा प्रमाणित भएको छ । आज बिहान मात्र शर्मासँग मैले छलफल पनि गरेका छु । अब एकताबद्ध भएर जाने हो, कसैले भन्दैमा पार्टी फुटाउने आशंका दिमागमा राख्नु परेन ।’
पार्टी फुटाउने हल्ला निराधार भएपनि पार्टीभित्र व्यवहारिक विषयहरू जटिल बन्दै गएको अध्यक्ष दाहालले स्वीकार गरेका छन् । नेताहरूबीचको सम्बन्ध विगार्न केही पात्रहरूले अनावश्यक कथा बनाउने गरेको उल्लेख गर्दै प्रचण्डले यसबारे पार्टी नेतृत्वले अनुसन्धान गरि कारबाही गनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।