logo-img

एमाले नेता भीम रावल भन्छन्- गठबन्धन सरकारप्रति विश्वास छैन

नेकपा (एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको मर्मविपरीत बनेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नेपालको संविधानको धारा २६९ को मर्मविपरीत रहेको बताएका हुन् ।

‘नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलहरूले निश्चित दर्शन, कार्यक्रम र नीतिको आधारमा आफूलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ र यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । यो बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा विपरीत सिद्धान्त भएका दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा आइसकेपछि उनीहरूले के गर्छन् ? भन्ने कुरा साह्रै महत्वपूर्ण हुन्छ । यो सामान्य राजनीतिक प्रक्रियामा राजनीतिक दलहरूले जनताको बीचमा गएर आफ्ना कार्यक्रम, नीति र सिद्धान्त अगाडि सार्ने र जनताको मत माग्ने । जसले बहुमत ल्याउँछ उसले सरकार बनाउँछ । कसैले बहुमत ल्याएन भने त्यस्तो अवस्थामा विचार मिल्ने दलहरू मिलेर सरकार गठन गर्छन् । यो सामान्य नेपालको संविधानमा परिकल्पना गरिएको कुरा हो,’ उनले भने ।

विपरीत सिद्धान्त भएका दुई ठूला दलहरूले सरकार बनाएकाले यी दलले राष्ट्रको बृहत्तर हितलाई ध्यानमा राखेर राष्ट्रिय सुरक्षा, नेपालको सार्वभौमता, क्षत्रीय अखण्डता, कृषि, उद्योग, स्वास्थ्य, सञ्चार क्षेत्रमा काम गर्छन् कि गर्दैनन् भन्ने कुरा परीक्षाको रूपमा रहेको उनको भनाइ छ ।

यस्तै संविधानको मर्मविपरीत समानुपातिक प्रणालीको अभ्यास भइरहेको उनले बताए । अहिले समानुपातिकको नाममा श्रीमती, आफन्त र पैसा दिने मान्छेहरूलाई दलहरूले सांसद बनाइरहेको उनको भनाइ छ । समानुपातिक प्रणालीको यसैगरी गलत अभ्यास गरिरहने हो भने खारेज गरिनु उपयुक्त हुने नेता रावलको सुझाव छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि गणतन्त्र र संविधानको समावेशी, समानुपातिक प्रणालीमा केही पनि नगरी संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले एमाले-कांग्रेस स्पष्ट दृष्टिकोणका साथ अगाडि नबढेको प्रष्ट भएको बताए ।

एमाले-कांग्रेस गठबन्धन सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने उनको ठोकुवा छ । ओली दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बनेको र प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीम्म भागबन्डामा रहेको र निश्चित समयपछि परिवर्तन हुने बताउँदै उनले त्यसलाई राजनीतिक स्थायित्व भन्न नसकिने बताए । कांग्रेस-एमालेले भनेको राजनीतिक स्थायित्व व्यवहारमा प्रमाणित नहुने उनको दाबी छ ।



त्यस्तै, कांग्रेस-एमालेले भन्ने गरेको राष्ट्रिय सहमतिको व्यवस्था नेपालको संविधानमा नै नरहेको उनको दाबी छ । पहिला एमाले–कांग्रेस एक अर्काको विरोधी रहेको स्मरण गराउँदै अब विरोध गर्ने ठाउँ सकिएको बताए ।



  • प्रकाशित मिति : भदौ १, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया