logo-img

ढोरपाटनमा बढ्दै पर्यटकको आगमन, एक वर्षमा १५ हजार बढीले गरे अवलोकन

पुर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । 

विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक ढोरपाटन घुम्न आउने क्रम बढेको हो । यही वर्षको साउनमा ५ सय ८१ जना नेपाली पर्यटकले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । 

‘आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९/०८० मा पर्यटक प्रवेश शुल्कबाट  ९ लाख ८३ हजार २ सय रुपैयाँ राजस्व संकलन भएकोमा २०८०/०८१ मा १९ लाख ३३ हजार सात सय पुगेको छ ।’ 

आर्थिक वर्ष २०७९/८० मा सात हजार ६ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०/८१ मा १५ हजार ५ सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ९ हजार ९ सय १९, २०७७/०७८ मा ६ हजार ७ सय तीन र २०७६/०७७ मा तीन सय २० जनाले ढोरपाटन घुमेका थिए ।  

ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्छ । 

सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तीमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सयजना बास बस्न सक्ने क्षमता छ । 



सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनले बताए । बसन्त र शरद याममा सिकारी आउँछन् । 



यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । 

वि.सं २०६७/६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० नाउर भेटिएका थिए ।  

१ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । रासस 

  • प्रकाशित मिति : भदौ २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया