मेरो जन्म उत्तर प्रदेशको बारबंकीमा भयो । त्यो समय सायद १९४९ को जुलाई थियो वा १९५० को अगस्ट, मेरो जन्म मितिबारे दोधार छ । आमालाई पनि मेरो जन्म मितिको सम्झना छैन । उहाँहरूलाई केचाहिँ सम्झना छ भने म जन्मेको दिन ‘रमाजान’ परेको थियो । मलाई बाबाले स्कुल भर्ना गर्दा मेरो जन्म मिति १६ अगस्ट राखिदिनुभयो । मेरी आमाबाट जम्मा पाँच सन्तान भए, जसमध्ये हामी तीनजना बाँच्यौँ । बाबालाई एउटा छोरी भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यो कुरा उहाँले हामीसँग धेरैपटक भन्नुभएको थियो ।
बाबा मलाई औधी माया गर्नुहुन्थ्यो । यो कुरा मलाई पछि आमाले बताउनुभएको थियो । उहाँ मलाई आफ्नो पिठ्युँमा राखेर घुमाउने गर्नुहुन्थ्यो । म बाबालाई अब्बा भनेर बोलाउँथे । सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र हुँदा मेरा दाइ दुई वर्षका थिए । केही वर्षमै उनी संसार छाडेर गए । पाकिस्तान भारतबाट छुटेको केही वर्षपछि मेरो जन्म भएकाले विभाजनताका भएका हिंसा, रगतको खोला बगेको कुनै पनि घटना मलाई थाहा छैन ।
मैले जान्ने हुँदासम्म सबै सक्किइसकेको थियो । म युपीको बाराबंकीमा थिए, जुन निकै मनमोहक र शान्त ठाउँ थियो । मेरा बाबा बाराबंकीकै सरकारी कर्मचारी हुनुहुन्थ्यो । भारत स्वतन्त्र भएको धेरैपछिसम्म पनि अंग्रेजहरू शानका साथ हिँड्थे, मलाई सम्झना छ । एकाधपटक अंग्रेज सिपाहीलाई मोटरगेडमा देखेको सम्झना छ । यो त्यस्तै १९५२–५३ को समय हुँदो हो ।
१९४७ सालमा भारत स्वतन्त्र भएपछि र पाकिस्तान छुट्टिइसकेपछिको घटनाले मेरो हुर्काइ, बढाइमा केही प्रभाव पर्यो कि परेन म यकिनका साथ भन्न सक्दिनँ । यसको प्रभाव मेरो बाबालाई कस्तो परेको थियो होला, किनकि उहाँको भाइ मेरा काका उहाँबाट छुट्टिएर पाकिस्तान जानुभएको थियो । त्यतिवेला उहाँहरूलाई कस्तो भयो होला । म कल्पना पनि गर्न सक्दिनँ । भाइ–भाइमा फुट आयो र एक–अर्कालाई तरबार हान्न पनि बाध्य भए होलान् ।
मेरा बाबाले भारतमै बस्ने निर्णय गर्नुभयो, यो निर्णयले पछिसम्म पनि उहाँलाई पश्चात्ताप भएन, न आमालाई नै भयो । हाम्रो घरको कसैलाई पनि यसमा पश्चात्ताप भएन । ठूलो हुँदै गएपछि बुझ्दै गएँ, विभाजनले समाजमा धेरै नराम्रो प्रभाव परेको थियो । समाजमा नैराश्य, रोदन उत्पन्न भएको थियो । हरेक मुसलमान हिन्दूप्रति र हरेक हिन्दू र शिख र मुसलमानप्रति द्वेष, वितृष्णा राख्थे । तर, मेरो व्यक्तिगत जीवनमा भने यस्ता कुनै पनि कुराको प्रभाव परेन । आज फेरि यस प्रकारका धार्मिक विभेदका कुरा हुन लागेका छन् । तर, म के कुरामा विश्वस्त छु भने हामी यस्ता समस्याबाट बाहिर निस्कन्छौँ, किनकि अन्त्यमा जित मानवताको नै हुन्छ ।
बिस्तारै–बिस्तारै म स्कुल जान सुरु गरेँ । किन्डरगार्डनमा मेरी एकजना शिक्षिका थिइन्– मिस ब्रेन्डिस । उनी मलाई धेरै माया गर्थिन् । एउटा आदर्श शिक्षक कस्तो हुनुपर्छ भन्ने प्रश्न मलाई आज पनि कसैले सोध्यो भने दिमागमा हठात् उनको अनुहार आउँछ । स्कुल छँदाका ती सबै रिपोर्ट कार्ड आज पनि मेरी श्रीमती रत्नाले सुरक्षित राखेकी छन् ।
एकपल्ट मेरो स्कुलमा स्पोर्ट्सको पुरस्कार वितरण कार्यक्रम थियो । मैले कुनै पनि खेल जितेको थिइनँ, जसबाट मलाई पुरस्कार मिलोस् । अचानक मलाई पछाडिबाट धक्का दिँदै कसैले भन्यो– तेरो नाम लिएर मञ्चमा बोलाइरहेका छन्, चाँडो जा । त्यसपछि म केही नसोची, नबुझीकनै म मञ्चतिर लम्किएँ । मञ्चमा पुगेर प्रमुख अतिथिसँग हात मिलाएँ । उनले मेरो हातमा पुरस्कारस्वरूप एउटा ‘कप’ हातमा थमाए । त्यो कप आज पनि मसँग सुरक्षित छ । तर, आफूलाई कुन कुराका लागि किन पुरस्कार दिइएको थियो भनेर मलाई अहिलेसम्म पनि थाहा छैन । फेरि मैले केही त्यस्तो गरेको थिइनँ, जसले गर्दा मलाई पुरस्कार दिइयोस् ।
सानोमा भएका धरै घटनामध्ये एउटा घटनाको मलाई आज पनि मधुरो सम्झना छ । म कसैको काखमा बसेर एउटा कार्यक्रम हेरिरहेको थिए । ती मान्छे मेरो बाबा–आमा कोही हुनुहुन्थेन न त मेरो नजिकको कोही आफन्त, छिमेकी । सायद रामलीलाको मञ्चन भइरहेको थियो या कुनै नाटक, या कुनै सर्कस, यो कुरा मलाई यकिनका साथ भन्न सक्दिनँ । त्यहाँ एकजना मान्छे थिए, जसको अनुहारमा पेन्टले रंगिएको थियो । ठूला–ठूला आँखा भएको त्यो मान्छे वेलावेलामा मेरो नजिक आएको, मञ्चबाट मलाई बारम्बार हेरेको पनि याद छ । उसको अनुहार र अभिनयले मेरो ध्यान यसरी आकृष्ट गरेको थियो कि आज पनि मलाई उसको याद आउँछ । उसको गहिरो प्रभाव ममा परेको रहेछ ।
लाइभ हिन्दुस्तान डटकममा ‘मेरी कहानी’ ब्लगअन्तर्गत प्रकाशित नारुनासिरुद्धिन शाहको ब्लगको अनुवादित अंश
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।