पछिल्लो समय संसारभर नयाँ–नयाँ भाइरसको उत्पत्तिले जनस्वास्थ्यमा गम्भीर अवस्था सिर्जना गरिरहेको छ । विगत एक दशकको तथ्यांक हेर्दा विश्वस्तरमै धेरै प्रकारका संक्रामक रोगले गम्भीर चुनौती सिर्जना गरिरहेका छन् । सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना महामारीमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।
कोरोना भाइरसले झन्डै दुई वर्ष विश्वलाई आक्रान्त पारेको थियो । अझै पनि यसका नयाँ–नयाँ भेरियन्ट पत्ता लाग्ने क्रम जारी नै छ । पहिलेको दाँजोमा हाल पुष्टि भइरहेका कोरोना भाइरसका नयाँ भेरियन्ट चिन्ताजनक नभए पनि सावधानी अपनाउन भने चिकित्सकहरूले बारम्बार सुझाउँदै आइरहेका छन् ।
हाल कोरोना भाइरस संक्रमण करिब–करिब नियन्त्रणमा छ । तर, अहिले अर्को रोग मंकीपक्सले विश्वभर चिन्ता बढाएको छ । अफ्रिकी महाद्वीपमा मंकीपक्सको संक्रमण तीव्र गतिमा बढिरहेको छ । यस वर्ष मात्रै यस रोगका कारण अफ्रिकामा १४ हजारभन्दा बढी संक्रमितमध्ये पाँचसय जनाले ज्यान गुमाइसकेका छन् ।
अहिले फैलिइरहेको मंकीपक्स नयाँ भेरियन्टको भएका कारण यसअघिका भन्दा थप चिन्ताजनक देखिएको अन्तर्राष्ट्रिय जनस्वास्थ्यविद्हरूले औँल्याएका छन् । विज्ञहरूले आफूहरूले अहिलेसम्म देखेको मध्येकै यो सबैभन्दा खतरनाक अवस्था भएको समेत बताएका छन् । अफ्रिकाका केही भागमा ‘मंकीपक्स’ रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले ‘सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा’ गरेको छ । संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा समेत व्याख्या गरिरहेको छ ।
मंकीपक्स भाइरसको पहिलो केस सन् १९५० को दशकमा देखिएको थियो । पछिल्ला केही महिनामा यो भाइरस विश्वका एकसय १६ देशमा प्रवेश गरिसकेको छ । मंकीपक्स दशकौँदेखि अफ्रिकी मानिसहरूमा सामान्य रोगका रूपमा रहेको थियो । तर, अहिले विश्वका अन्य देशहरूमा पनि फैलिरहेको छ । विशेषगरी अमेरिका, क्यानडा, बेलायत र धेरै युरोपेली देशहरूमा यसको केसहरू पुष्टि भइरहेका छन् । केही देशहरूमा नयाँ केसहरूले निश्चित रूपमा मानिसहरूमा चिन्ता पैदा गरेको छ । फेरि पनि भाइरस फैलनुको कारणबारे खासै जानकारी नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
के हो मंकीपक्स ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार मंकीपक्स भाइरसबाट एक व्यक्तिबाट अर्को व्यक्ति, जनावरबाट जनावर, जनावरबाट मानिस, मानिसबाट जनावरमा पनि सर्ने एक प्रकारको सरुवा रोग हो । यो भाइरसबाट छालामा घाउ बनाउँदै आँखा, नाक र मुखबाट शरीरमा प्रवेश गर्न सक्ने उनी बताउँछन् ।
उनका अनुसार अधिकांश मंकीपक्स संक्रमितहरू कुनै न कुनै सहवासमा संलग्न भएको अनुसन्धानले देखाएको थियो । तर, संक्रमितको थुकको छिटा, संक्रमितको घाउ÷फोकाको तरल पदार्थ, संक्रमितले प्रयोग गरेका सरसामान आदिबाट पनि मंकीपक्स सजिलै सर्ने गर्छ ।
आवश्यक पूर्वतयारीमा जुट्यो नेपाल
स्वास्थ्य विज्ञहरूले विश्वभर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । मंकीपक्स भाइरस संक्रमणलाई लिएर आपतकाल घोषणा भएसँगै नेपाल सरकारको पनि गम्भीर ध्यानाकर्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक यदुचन्द्र घिमिरेले जानकारी दिए ।
‘मंकीपक्स जुनसुकै बेला जहाँ पनि फैलिन सक्ने भएकाले चुप लागेर बस्ने अवस्था छैन । त्यसका लागि सरकारले नेपालमा मंकीपक्सको संक्रमणलाई भित्रिन नदिने गरी आवश्यक पूर्वतयारी गर्ने उद्देश्यले प्रयोगशालाका पदाधिकारीसँग छलफल गरिरहेको छ । डब्लूएचओका पदाधिकारीहरूसँग पनि छलफलमा जुटेका छौँ,’ निर्देशक डा. घिमिरेले भने ।
डा. घिमिरेका अनुसार मंकीपक्स भाइरसका लक्षणहरू प्रायः ज्वरो, तीव्र टाउको दुखाइ, सुजन, मांसपेशीहरूमा दुखाइ हुन्छ । ज्वरो कम भएपछि शरीरमा बिबिरा देखा पर्न थाल्छन्, जुन सामान्यतया अनुहारबाट सुरु हुन्छ । र, शरीरका अन्य भागहरूमा फैलिन्छ । यी बिबिरा पीडादायक हुन सक्छन् । संक्रमण १४ देखि २१ दिनसम्म रहन सक्छ र गम्भीर केसहरूमा घाउहरू शरीरका सबै भागहरूमा फैलिन सक्ने उनको भनाइ छ ।
यता, डा. शेरबहादुर पुन मंकीपक्स समलिंगीमा बढी देखिएका कारण नेपालमा कोरोनाजस्तो छिट्टै फैलिन्छ भनेर आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
‘मंकीपक्स नेपालका लागि नयाँ रोग पक्कै होइन । गत वर्ष नेपालमा एक विदेशी महिलालाई देखियो । जुन समुदाय स्तरमा फैलिन पाएन । तर, नेपालको पनि विश्वमा आवतजावत हुने भएकाले चनाखोचाहिँ हुनुपर्छ,’ डा. पुन भन्छन्, ‘मंकीपक्स नेपालमा पुष्टि भयो भन्दैमा त्रसित वा आत्तिनु पर्दैन । मंकीपक्सलाई पनि अरू छाला तथा यौन रोगहरू भन्दा पृथक तरिकाले हेरिनुहुन्न । समयमा निदान र उपचार गरियो भने मंकीपक्सबाट हुनसक्ने जटिलतालाई सजिलै रोक्न सकिन्छ ।’
कसरी बच्ने ?
मंकीपक्स भाइरसबाट बच्नका लागि निम्न उपाय अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।
– संक्रमित व्यक्तिमा लक्षणहरूको पहिचान गर्न महत्वपूर्ण छ र तिनीहरूबाट टाढा रहनुपर्छ ।
– सरसफाइमा ध्यान दिने र हात धुने बानीको विकास गर्नुपर्छ ।
– संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम गर्ने, संक्रमित र तिनीहरूको सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइन गर्ने व्यवस्थाले यसबाट धेरै हदसम्म बच्न सकिने चिकित्सकको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।