logo-img

यी १० वस्तु जो नेपालमा बढी आयात हुन्छन्

पछिल्लो समय अर्थतन्त्र धराशायी अवस्थामा छ । मुलुकका धेरै सूचकांकमा सुधार आए पनि अझै अर्थतन्त्रले अपेक्षित गतिशीलता पाइरहेको छैन । गत आर्थिक वर्ष २०८०–०८१ मा  आयात र निर्यात दुवै घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०–८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई १५२ अर्ब ३८ करोड पुगेको छ । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ हुने निर्यातमा कमी आएको छ भने चीनमा हुने निर्यात वृद्धि भएको छ । 

यस्तै, गत वर्ष कुल वस्तु आयात १.२ प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात १६.१ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट हुने आयातमा कमी आएको हो । 

यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोसाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेसिनरी तथा पार्ट्सलगायत वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, हट रोल्ड सिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामललगायत वस्तुको आयात घटेको छ । 

नेपालले १७० भन्दा धेरै देशबाट वस्तु आयात गर्दै आएको छ । आयातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट भइरहेको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन, तयारी पोसाक तथा खाद्यान्न र तरकारीका लागि नेपाल भारतमा अधिक निर्भर देखिन्छ । त्यस्तै, धेरै वस्तु आयात हुने मुलुकको दोस्रो स्थानमा चीन छ । चीनसँगै युएई, युक्रेन, अमेरिकी र युरोपेली मुलुकबाट समेत वस्तु आयात हुँदै आएको छ । पछिल्लो समय नेपालभित्र उत्पादन गर्न सकिने वस्तु तथा सेवामा पनि परनिर्भरता बढ्दै गएको छ ।

१. पेट्रोलियम पदार्थ आयातमा बाहिरियो तीन खर्ब



पेट्रोलियम पदार्थ नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पहिलो नम्बरमा पर्छ । पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन हुँदैन, जसले गर्दा आयात नभई हुँदैन । वार्षिक खर्बौं रुपैयाँको आयात भइरहेको छ । हुन त गत वर्ष समग्र वस्तुको आयातमा कमी आउँदा पेट्रोलियम पदार्थमा पनि कमी आइरहेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३ खर्ब ६५ करोड रुपैयाँबराबरको (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३ खर्ब ९ अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो भने आर्थिक वर्ष ०७८–७९ मा तीन खर्ब ३४ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो । यसरी पछिल्लो समय आयातमा पेट्रोलियम पदार्थ आयातमा कमी आइरहेको छ । आयातमा कमी आउनुका कारण आर्थिक सिथिलता हुनु, भारतीय सीमावर्ती क्षेत्रमा मूल्य कम हुनु र विद्युतको प्रयोग बढ्नुलाई लिइएको छ । 



२.मेसिनरी तथा पार्टपुर्जा

दोस्रो नम्बरमा बढी रुपैयाँको आयात हुने वस्तुमा मेसिनरी तथा पार्टपुर्जा रहेका छन् । कारखानादेखि जलविद्युत् आयोजनासम्मका लागि चाहिने यस्ता मेसिनरी आयात गएको आर्थिक वर्ष २०८०–०८१ मा ७८ अर्ब ८५ करोडको मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ७२ अर्ब ९४ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ९१ अर्ब ५७ करोडको आयात भएको थियो । नयाँ उद्योग स्थापना तथा पुरानाको मर्मत गर्न आवश्यक पर्ने यस्ता मेसिनरी सामानको आयात हुनुलाई सकारात्मक संकेतका रूपमा लिइन्छ । मेसिनरी सामानको आयात धेरै बढ्नु भनेको औद्योगिक वातावरणको राम्रो संकेत भएको व्यवसायीहरूको भनाइ छ । 

३.सवारी साधान तथा पार्ट्सको आयात

आयात हुने तेस्रो नम्बरमा सवारीसाधन तथा पाट्र्सको आयात पर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सवारीसाधन तथा सवारीका पार्टपुर्जा आयात गर्दा ७८ अर्ब १ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ६१ अर्ब ७९ करोडको सवारीसाधन तथा सवारीका पार्टपुर्जा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा १ खर्ब २३ अर्ब ९१ करोडको आयात भएको थियो । 

पछिल्लो समय नेपालीमा निजी सवारीसाधन अति आवश्यकताको वस्तु भएको छ । त्यसकारण पनि सवारीसाधनको कारोबार बढेको हो । नेपालमा भारत, चीन, अमेरिका, जापान, जर्मनी, इटाली, ताइवान, कोरिया, स्विट्जल्याण्डलगायत मुलुकबाट नेपालमा सवारीसाधन तथा त्यसका पार्टपुर्जा आयात हुँदै आएको छ । पछिल्लो समय सवारी साधनको केही पार्टपुर्जा भने नेपालमै उत्पादन हुन थालेको छन् ।

४. औषधि 

नेपाल औषधिमा आत्मनिर्भर हुने कुरा कागजै सीमित छ । औषधिमा आत्मनिर्भरताको विषय आजभन्दा ३० वर्ष अघिदेखि प्रतिबद्धता गरेको कुरा हो । राष्ट्रिय औषधि नीति ०५१ ले १० वर्षभित्र देशमा खपत हुने ८० प्रतिशत औषधि स्वदेशमै उत्पादन गर्ने नीति लिएको थियो । तर, औषधि उत्पादन, आयात तथा निर्यातका पक्षमा बनेका नीति तथा कानुन कार्यान्वयन नहुँदा स्वदेशी उत्पादनले गति लिन सकेको छैन । 

नेपालले आज पनि बर्सेनि अर्बाैंको औषधि आयात गरिरहेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ४५ अर्ब ९० करोडको आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा ४७ अर्ब ६५ करोडको औषधि आयात हुँदा २०७८–०७९ मा ७६ अर्ब ८ करोडको आयात भएको थियो । नेपाल औषधि उत्पादक संघका अनुसार ट्याब्लेड, क्याप्सुल, लिक्विड र आइण्टमेण्ट (मल्हम)मा भने नेपाल लगभग आत्मनिर्भर छ भने विशेषगरी भ्याक्सिन, बायोटेक्नोलोजी प्रडक्ट, क्रिटिकल केयरलगायत अत्यावश्यक औषधि विदेशबाटै आयात गर्दै आएको छ । 

नेपालले हाल पाँच सय प्रकारका औषधि उत्पादनमा नेपाली कम्पनीले ७० प्रतिशत हिस्सा ओगटेका छन् । नेपालमा हाल डेढ सयको हाराहारीमा उद्योग दर्ता भए पनि करिब ७९ वटा औषधि उद्योग सञ्चालनमा रहेका छन् । औषधि बजारमा भ्याक्सिनबाहेक भारतीय र नेपाली उत्पादनले ५०–५० प्रतिशत बजार हिस्सा ओगटेका छन् । सरकारले सित्तैमा बाँड्ने करिब ९० प्रतिशत र सम्पूर्ण औषधिको ७५ प्रतिशत औषधि उत्पादन गर्न सक्ने अवस्था विद्यमान रहेको भए पनि सरकारी उदासीनताले बजारको ५० प्रतिशत हिस्सामा खुम्चिनुपर्ने अवस्था छ ।

५. स्पन्ज आइरन

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८–७९ को बजेटमा मुलुकभित्रै स्टिल बिलेट उत्पादन प्रोत्साहन गर्ने भन्दै कच्चा पदार्थ (स्पन्ज आइरन) आयातमा लाग्ने गरेको भन्सार दर ५ बाट १ प्रतिशतमा झारेका थिए । अन्तःशुल्क भने नलाग्ने व्यवस्था गरेका थिए । सोही कारण पछिल्लो समय स्पन्ज आइरन आयात ह्वातै बढेको छ । आर्थिक वर्ष २०८०–०८१ मा ३९ अर्ब २ करोडको स्पन्ज आइरन आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ४३ अर्ब ६० करोडको स्पन्ज आइरन आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २३ अर्ब ९८ करोडको आयात भएको थियो । 

अर्थमन्त्री शर्माले गरेको यस्तो निर्णय उद्योगीहरूले चौतर्फी विरोध गर्दै आएका थिए । विकास निर्माणका लागि महत्वपूर्ण वस्तुको रूपमा रहेको छड डन्डी तथा अन्य फलामे पदार्थहरूको उत्पादनलाई गुणस्तरीय बनाउनको लागि कच्चा पदार्थको रूपमा बिलेट नै प्रयोग हुने गर्दछ । स्क्रयाप तथा स्पन्ज आइरनजस्ता कच्चापदार्थबाट उत्पादन हुने छड, डन्डीलगायत अन्य फलामे पदार्थको गुणस्तरमा २० प्रतिशतले ह्रास हुने व्यवसायीको दाबी थियो । सरकारले भन्सार छुट दिएको स्पन्ज आइरन पत्रु पगालेर फलामे छड उत्पादन गर्दा मिसाइने कच्चापदार्थ हो । यो खानीबाट उत्खनन गरे पनि पहिलो चरणमा प्रशोधन गरिएको कच्चा फलाम हो ।

६. विद्युतीय उपकरण आयात

त्यस्तै, अर्को धेरै रुपैयाँ खर्च गरेर नेपाल भित्रिने वस्तुमा विद्युतीय उपकरण रहेका छन् । आर्थिक वर्ष २०८०–०८१ मा ३८ अर्ब ६७ करोडको विद्युतीय उपकरण आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३१ अर्ब ८२ करोडको विद्युतीय उपकरण आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३३ अर्ब ६७ करोडको आयात भएको थियो । नेपालमा धेरै जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने मेसिन तथा उपकरण ९० प्रतिशतभन्दा बढी विदेशबाट नै आयात हुन्छ । जलविद्युत् आयोजनामा आवश्यक पर्ने इलेक्ट्रिक तथा मेकानिकल उपकरण, विद्युतीय पार्टपुर्जा, विद्युतीय लाइट तथा थरीथरीका बत्तीहरू पनि विदेशबाट नै आयात हुन्छ ।

७. दूरसञ्चार उपकरण तथा पार्ट्स आयात

दूरसञ्चार क्षेत्रको तीव्र विकासका कारण यस क्षेत्रमा प्रयोग हुने उपकरण र तिनका पार्टपुर्जाको आयात पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३७ अर्ब १२ करोडको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३६ अर्ब ४० करोडको दूरसञ्चार उपकरण तथा पार्ट्स आयात हुँदा ५३ अर्ब ७१ करोडको आयात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने पछिल्लो समय दूरसञ्चार उपकरण एवं पार्टपुर्जाको आयात लगातार बढिरहेको छ । टेलिफोन र इन्टरनेट सेवा चलाउने ठूला कम्पनीसँगै साना इन्टरनेट सेवाप्रदायकको समेत बजार बढ्दै गएकाले यस्ता उपकरणको आयात बढेको हो । नेपाल टेलिकम र एनसेलजस्ता ठूला कम्पनीले सेवा विस्तार गर्ने क्रममा विभिन्न उपकरणको आयात गरिरहेका छन् । उनीहरूले टेलिफोन सेवा विस्तारका लागि आवश्यक टावर, अप्टिकल फाइबर, ट्रान्समिसन उपकरणलगायत सामग्री विभिन्न मुलुकबाट आयात गरिरहेका छन् । 

टेलिफोन र इन्टरनेट सेवा विस्तारका कारण उपभोक्ताले मोबाइल, स्मार्टफोन, राउटर, डंगोललागयत सामग्रीको माग बढाएका छन् । त्यसलाई पूर्ति गर्न व्यापारिक समूहले विभिन्न मुलुकबाट यस्ता उपकरण र तिनका पार्टपुर्जा आयात गर्दै आएका छन् । नेपालमा भारत, चीन, जापान, जर्मनी, फ्रान्स, मेक्सिको, भियतनाम, अमेरिका, सिंगापुर, मलेसिया, थाइल्यान्ड, कोरिया, अस्ट्रिया, अस्ट्रेलिया, पोर्चुगल, बहराइन, इरान, कुबेत, सिरिया, बहराइन, ओमन, कतार, ग्रिस, ताइवान, हङकङ, डेनमार्ग, बंगलादेशलगायत मुलुकबाट दूरसञ्चार उपकरण र तिनका पार्टपुर्जा आयात हुन्छ । 

८. रासायनिक मल

कृषिप्रधान देशका रूपमा रहेको नेपालको कृषि क्षेत्र थप जर्जर बन्दै गएको छ । काम गर्नसक्ने जनशक्ति बिदेसिँदा र देशभित्रको उत्पादनले बजार र सही मूल्य नपाउँदा नेपालमा कृषिप्रतिको आकर्षण घटिरहेको छ । जसका कारण कृषिप्रधान देशमा बर्सेनि खर्बाैं रुपैयाँबराबरको तरकारी, फलफूलदेखि खाद्यान्नसम्म छिमेकी देशबाट आयात भइरहेको छ । सरकारले नेपालका कृषि उत्पादकत्व बढाउन विभिन्न प्रकारका उपाय अवलम्बन गरिरहेको छ । त्यमध्येको एक हो– मल । 

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ३६ अर्ब ४३ करोडको रासायनिक मल आयात गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ४० अर्ब ६९ करोडको रासायनिक मल आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २१ अर्ब ३६ करोडको आयात भएको थियो । सरकारले रासायनिक मल खरिदका लागि बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्छ । तर, किसानले खेती गर्ने समयमा मल नै पाउँदैनन् । यस्तो समस्या भोग्नुपरेको वर्षौं भए पनि सरकारले समाधान निकाल्न सकेको छैन । सरकारले कृषि क्षेत्रमा विनियोजन गर्ने बजेटको आधाभन्दा धेरै रकम अनुदानको रासायनिक मल खरिदका लागि खर्च हुने गरेको छ । नेपालमा रासायनिक मल उत्पादन हुँदैन । सरकारले विदेशबाट समयमै आयात गर्न नसक्दा हरेक वर्ष मलको हाहाकार हुने गरेको छ ।

९. तयारी पोसाक 

नेपालबाट निर्यात हुने वस्तुमध्ये रेडिमेड गार्मेन्ट अर्थात् तयारी पोसाक पनि मुख्य हो । तर, सरकारबाट प्रोत्साहन नपाउँदा पछिल्लो समय तयारी पोसाकको आयात बढ्दो छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३३ अर्ब २६ करोडको तयारी पोसाक आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा २४ अर्ब ४८ करोडको तयारी पोसाक आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३० अर्ब ९० करोडको आयात भएको थियो । बजारको मागअनुसार स्वदेशमा कपडा उत्पादन गर्न नसक्दा विदेशबाट तयारी कपडाको आयात ह्वात्तै बढेको हो । तयारी पोसाक क्षेत्र विदेशी मुद्रा आर्जन र रोजगारीको एक ठूलो रोजगारीको अवसर भए पनि खस्कँदो अवस्थामा पुगेको छ । नेपालमा सन् २००२ अघि तयारी पोसाकको बजार र निर्यात राम्रो भए पनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको हो ।

१०. कपडा आयात

पछिल्लो समय कपडा आयात बढेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–०८१ मा ३० अर्ब ९२ करोडको कपडा आयात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा २६ अर्बको कपडा आयात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २८ अर्ब ७३ करोडको आयात भएको थियो । तयारीबाहेक अन्य कपडाको आयातको मात्रा पनि ठूलो छ । 

कपडा उद्योगका लागि उपयुक्त वातावरण नहुँदा उत्पादन वृद्धि हुन सकेको छैन । जसका कारण ठूलो मात्रामा कपडा आयात गर्नुपर्ने बाध्यता छ । विगतमा स्वदेशी बजारमा राम्रो हिस्सा जमाएका र भारतमा समेत निर्यात गर्दै आएका कपडा उद्योग बन्द भएकाले आयात बढेको हो । स्वदेशी कपडा  गुणस्तरीय भए पनि ब्रान्डिङ गर्न नसक्दा उपभोक्ताले विदेशी नै रोज्ने गरेका छन् ।

  • प्रकाशित मिति : भदौ ३, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया