logo-img

प्रधानमन्त्री ओली भन्छन्- गैरसहकारी तत्व घुसेका कारण सहकारीप्रति निष्ठा रहेन
‘स्टार्टअपका लागि अनुकूल वातावरण बनेको छ’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरसहकारी तत्वहरू बेग्लै उद्देश्यले सहकारीमा प्रवेश गरेका कारण केही सहकारीमा समस्या उत्पन्न भएको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित स्टार्टअप नेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी सञ्चालन गर्न नजानेर नभइ गैरसहकारी तत्वहरू सहकारीमा घुसेका कारण सहकारीप्रतिको निष्ठा नरहेको बताएका हुन् । 

वर्तमान सरकार सहकारीमा देखिएका सबै समस्याको समाधान गरेर अगाडि बढ्ने प्रधानमन्त्री ओलीको दाबी छ । 

‘सहकारी अचानक ठूला भए । सहकारीका मूल्य मान्यताअनुसार चलेनन् । सम्पूर्ण सहकारी बचतकर्ताको विश्वास कम गर्ने प्रवृत्ति हावी भयो । हुन त हजारौं सहकारीमध्ये केहीमा समस्या भएको हो । गैरसहकारी तत्वहरू सहकारीमा घुसे । सहकारीहरू गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरू बेग्लै उद्देश्यले प्रवेश गरे । त्यसले सहकारी प्रतिको निष्ठा रहेन । सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरू प्रवेश गरे । अब सबै सहकारीहरूमा देखिएका समस्याहरू समाधान गरेर अगाडि बढ्छौँ । अगाडि बढाउनुपर्छ,’ उनले भने ।  

हजारौंमध्ये केही मात्र सहकारीमा समस्या देखिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभर सहकारीको सञ्जाल विस्तार गरेर लैजानुपर्ने उनको भनाइ छ । 



त्यस्तै, उनले उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगको स्थापनासँगै सेवा क्षेत्रमा नवीन सोचका साथ अगाडि बढ्न अनुकूल वातावरण बनेको बताए । 

‘विभिन्न क्षेत्रमा स्टार्टअप अगाडि बढाएर लैजानुपर्छ । उद्योग, कृषिको आधुनिकरणसँग सम्बन्धित साना उद्योगहरूको स्थापना र अन्य क्षेत्रहरूबाट काम अगाडि बढाउने र सेवा क्षेत्रलाई गति दिनका लागि नवीन सोचका साथ नयाँ भावनाका साथ अगाडि बढ्न आवश्यक रहेको छ । स्टार्टअपका लागि अनुकूल वातावरण बनेको छ,’ प्रधानमन्त्री ओलीले भने । 



  • प्रकाशित मिति : भदौ ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया