गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरूलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्यादा महत्त्व छ, यो गम्भीर विषय पनि हो , संवेदनशील विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु ।’
उनले पहिचान भएका विषयमा धेरै छलफल भइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिलाई गर्न नहुने बताए । ‘यो प्रस्तावित विधेयकमा सदन र सभामा विस्तृत रूपमा माननीय सदस्यहरूको समेत संशोधन समेत आएर समितिमा पुगेको छ । छलफलका विषयहरू पहिचान भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्र विस्तार गर्ने कि नगर्ने भन्ने एउटा विषय पहिचान भएको छ,’ उनले भने, ‘उजुरीकर्ताको पहिचान हुनुपर्ने कि नपर्ने?, हदम्यादको सवाल बडो गम्भीरताका साथ उठेको छ । स्वार्थ बाझिने भन्ने विषय के हो भन्नेबारेमा पनि उठेको छ । कुनै निर्णय गरेर अख्तियारको दुरुपयोग हुन्छ भने कामै नगरी बस्दाखेरि त्यसले राज्यलाई नोक्सान भयो भने निर्णय नगर्ने पदाधिकारीमाथि कारबाही गर्ने कि नगर्ने ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।