logo-img

के हो त्रिवि विवाद ? शिक्षामन्त्रीले किन गुहारिन् गृह मन्त्रालय ? [भिडियोसहित]

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्तिको विषयमा विवाद बढ्दै गएपछि यतिबेला विश्वविद्यालय आक्रान्त बनेको छ । उक्त विवाद अहिले विश्वविद्यालय हुँदै गृह मन्त्रालयसम्म पुगेको छ । 

विश्वविद्यालयको सहकुलपतिसमेत रहेकी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उक्त विवाद मिलाउन नसकेपछि गृहमन्त्री रमेश लेखकलाई गुहार्न पुगेकी छिन् । शिक्षामन्त्री भट्टराईले बुधबार गृहमन्त्री लेखकलाई त्रिविमा सुरक्षा व्यवस्था मिलाउन आग्रहसमेत गरेकी छिन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री लेखकलाई त्रिविमा केही दिनदेखि पदाधिकारी र प्राध्यापकलाई हमला गर्न खोजिएको र धम्की दिने काम भइरहेको जनाउँदै सिंगो विश्वविद्यालय नै असुरक्षित बनेको जानकारी गराएकी छिन् ।

शिक्षामन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकलाई फोन गर्दै धम्की दिएका कारण विश्वविद्यालय असुरक्षित बनेको जनाए पनि किन र कसले धम्की दिइरहेको छ भन्नेबारे भने खुलाएकी छैनन् । मन्त्री भट्टराईले गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै यस्ता क्रियाकलपमा संलग्नलाई कानुनी दायरमा ल्याएर कारबाही गर्नसमेत गृहमन्त्री लेखकलाई आग्रह गरेकी छिन् ।

शिक्षामन्त्री भट्टराईले फेसबुकमा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगोे विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई कारबाही गर्नसमेत म गृह मन्त्रालयलाई गम्भीरताका साथ अनुरोध गर्दछु ।’

शिक्षामन्त्री भट्टराईले बुधबार बिहान फेसबुकमार्फत गृहमन्त्रीलाई आग्रह गरेपछि आफ्नै सरकार हुँदा पनि त्रिविको सुरक्षा माग गरेको भन्दै केहीले सामाजिक सञ्जालमै उनको आलोचना गरेका छन् । उक्त आलोचनापछि शिक्षामन्त्री भट्टराईले पुनः फेसबुकमा स्टाटस लेख्दै आफूले उक्त कुरा आवेगमा नभई बाध्य भएर लेखेको स्पष्ट पारेकी छिन् ।



उनले लेखेकी छिन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो । कुनै आवेगमा आएर लेखेको होइन । मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु ।’

मन्त्रीले नै सम्हाल्न नसक्ने गरी के भएको हो त्रिविमा ?



अहिले त्रिविमा देखिएको विवादको मुख्य जड हुन् मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन कुसुम शाक्य । शाक्यले समाजशास्त्र विभाग प्रमुखमा कार्यविधि मिचेर नियुक्ति गर्न खोजेपछि विवादले उग्र रूप लिएको हो ।

गत शुक्रबार समाजशास्त्र विभागका प्रमुख युवराज लुइँटेलको कार्यकाल सकिएको थियो । वरिष्ठताका आधारमा सहप्राध्यापक पासाङ शेर्पाले नियुक्ति लिएर आइतबारदेखि उक्त विभागको जिम्मेवारी सम्हाल्नुपर्ने थियो । त्रिविमा ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था कार्यविधिमा छ  । तर, मानविकी तथा सामाजिकशास्त्र संकायकी डिन शाक्यले कार्यविधि मिचेर सहप्राध्यापक टीकाराम गौतमको नाम सिफारिस गरेपछि विवाद भएको त्रिवि स्रोतले जनाएको छ ।

विभागले वरिष्ठताका आधारमा एक नम्बरमा रहेका सहप्राध्यापक पासाङ शेर्पा, दुई नम्बरमा रहेका टीकाराम गौतम र तेस्रो नम्बरमा रहेका मनहरि ढकालको नाम सिफारिस गरेको थियो । तर, डिन शाक्यले कार्यकारी परिषद्मा सिफारिस गर्दा पहिलो नम्बरमा रहेका सहप्राध्यापक शेर्पालाई सिफारिस नगरेर दोस्रो नम्बरमा रहेका गौतमलाई सिफारिस गरेकी थिइन् ।

शेर्पा र गौतम सहप्राध्यापकमा एकै दिन नियुक्त भएका हुन् । तर, त्रिवि सेवा प्रवेशमा गौतमभन्दा चार वर्ष पहिला शेर्पाले स्थायी नियुक्ति पाएका कारण कार्यविधिअनुसार शेर्पालाई वरिष्ठताका आधारमा विभागीय प्रमुखमा सिफारिस गर्नुपर्ने थियो ।

त्रिविका एक प्राध्यापकका अनुसार डिनको सिफारिस बाध्यकारी हुँदैन । डिनसँग राय लिएर त्रिवि कार्यकारी परिषद्ले निर्णय गर्न सक्ने भएकाले सही र योग्य व्यक्तिलाई परिषद्ले नियुक्त गर्नसक्ने उनले बताए ।

विभागीय प्रमुख नियुक्तिमा अनावश्यक दबाब तथा र धम्की आएको भन्दै त्रिविका पदाधिकारी कार्यालय नआएपछि घटना थप जटिल बन्दै गएको हो । त्रिविका उपकुलपति प्रा.डा केशरजंग बराल डेंगु संक्रमण भएपछि बिदामा थिए भने रेक्टर खड्ग केसी र रजिष्ट्रार केदार रिजाल असुरक्षाको कारण देखाउँदै शुक्रबार र आइतबार कार्यालय नै आएनन् ।

रजिष्ट्रार रिजालले आफूलाई धम्की भने नआएको जानकारी फरकधारलाई दिएका छन् । विद्यार्थीका केही असन्तुष्टि रहेको र त्यसलाई हल गरेर अघि बढ्ने उनले बताए । उनले उनले भने, ‘विद्यार्थीका केही असन्तुष्टि देखिएका छन् । त्यसलाई हल गर्नुपर्छ । हामी अहिले छलफलमै छौँ । मलाई त्यस्तो धम्की आएको छैन । बाहिर समाचारमा आएजति जटिल अवस्था पनि बनेको छैन ।’
त्र, विश्वविद्यालय कुलपति केपी शर्मा ओली, सहकुलपति विद्या भट्टराई र गृहमन्त्री लेखकलाई असुरक्षित रहेको जानकारी दिएर पदाधिकारीहरू बिदामा बसेको त्रिवि स्रोतले जनाएको छ । 

रजिष्ट्रार रिजालले नै उपकुलपति, रेक्टर र रजिष्ट्रारको निजी निवास र कार्यालय परिसरमा सुरक्षाको प्रबन्ध गरिदिन अनुरोध गरेका थिए । सोही आधारमा शिक्षामन्त्री भट्टराईले आज गृहमन्त्रीलाई सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेकी हुन् ।

कसले धम्क्यायो त्रिविका पदाधिकारी र प्राध्यापकलाई ?

समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्ति र सिफारिसको विषयमा आधिकारिक रूपमा अहिलेसम्म कुनै पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छैनन् । कार्यविधिअनुसार नियुक्त हुनुपर्छ भन्ने पक्षमै सबै विद्यार्थी संगठनहरू रहेको त्रिवि स्रोतको भनाइ छ ।

त्रिविका पदाधिकारी र प्राध्यापकलाई धम्की दिने विद्यार्थी योगेन्द्र रावल रहेको त्रिवि स्रोतले जनाएको छ । रावल त्रिविका पूर्वविद्यार्थी हुन् । उनैले दुई–चारजना विद्यार्थी बटुलेर त्रिविका पदाधिकारी तथा प्राध्यापकलाई धम्क्याउने गरेको त्रिवि स्रोतको भनाइ छ । रावल तिनै व्यक्ति हुन्, जसले केही वर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि हातपात गरेका थिए । रावलले नियुक्ति, सरुवा, बढुवालगायत विभिन्न विषयलाई कमाइ खाने भाँडो बनाएर त्रिविलाई आक्रान्त पारेको त्रिविका एक कर्मचारीले बताए । गौतमलाई विभागीय प्रमुख बनाउन योगेन्द्र रावल लागिपरेकाे बताइएकाे छ ।  

यही समूहले अहिले गौतमलाई नियुक्ति नगरे जे पनि हुन सक्ने भन्दै त्रिवि पदाधिकारीलाई धम्की दिने गरेको जनाइएको छ । रावल कांग्रेसनिकट नेविसंघ त्रिवि एकाइका पूर्वसचिव हुन् भने डिन शाक्य पनि कांग्रेस कोटाबाट मानविकी संकायको डिन नियुक्त भएकी थिइन् । उनै शाक्यले पहिलो नम्बरमा सिफारिस गरेका गौतम पनि कांग्रेसनिकट मानिन्छन् ।​कांग्रेसनिकट मानिएका यी तीनजनाको केमेस्ट्री नमिल्दा अहिले त्रिवि असुरक्षित बन्न पुगेको छ । 

तर विद्यार्थी रावलले उक्त कुरालाई अस्वीकार गरेका छन् । आफूले कुनै पनि पदाधिकारीलाई धाक, धम्की नदिएको उनको दाबी छ । रावलले धम्क्याएको प्रमाण दिन पनि चुनौती दिएका छन् । आफूहरूले खुला प्रतिस्पर्धाबाट कार्यविधिअनुसार विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने धारणा राखेको, तर कसैलाई पनि नधम्क्याएको रावलले बताए ।

टीकाराम गौतमलाई विभागीय प्रमुखको जिम्मेवारी नदिनकै लागि त्रिचन्द्र क्याम्पसबाट ६ महिनापहिले सहप्रध्यापक पासाङ शेर्पालाई सरुवा गरेर ल्याएको उनको आरोप छ ।

प्रहरीको उपस्थितिमा कार्यालय पुगे पदाधिकारी

असुरक्षाको कारण देखाउँदै कार्यालय आउन छाडेका त्रिविका पदाधिकारीहरू प्रहरीको उपस्थितिमा आजबाट कार्यालयमा आएका छन् । त्रिवि स्रोतका अनुसार प्रहरीले अहिले उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यालयमा सुरक्षा दिइरहेको छ ।

डेंगु संक्रमणका कारण एक सातादेखि बिदामा रहेका उपकुलपति प्रा.डा केशरजंग बराल पनि आज दिउँसोबाट कार्यालय आएका छन् भने रजिष्ट्रार प्रा.डा. केदार रिजाल र शिक्षाध्याक्ष (रेक्टर) प्रा.डा खड्ग केसी पनि कार्यालय आएका छन् । उनीहरूको सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको जनाइएको छ ।

त्रिविका पदाधिकारीहरू असुरक्षित रहेको खबर प्राप्त भएपछि सुरक्षाकर्मी खटाइएको नेपाल प्रहरीका प्रवक्ता एवं नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीका अनुसार त्रिविका पदाधिकारीलाई जहाँ आवश्यक पर्छ त्यहाँ नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।

  • प्रकाशित मिति : भदौ ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया