कुनै पनि देशको अर्थतन्त्र कति बलियो वा कमजोर छ भन्ने थाहा पाउन त्यस देशको व्यापार क्षमतालाई हेर्ने गरिन्छ । नेपालको अर्थतन्त्र परम्परागत रूपमा कृषिप्रधान रहिआएकाे छ । दशकौँदेखि देशको व्यापारको मूल संरचना पनि कृषिमै आधारित रहँदै आएको छ ।
कृषिले नेपालको कुल गार्हस्थ उत्पादनको झन्डै एकतिहाइ र कुल रोजगारीको दुईतिहाइ प्रतिनिधित्व गर्छ । नेपालको जैविक तथा भौगोलिक विविधताका कारण यहाँ उत्पादनगत विविधताको क्षमता रहे पनि त्यसको उपयोग गर्न सकिएको छैन, जसका कारण नेपालको अर्थतन्त्र उत्पादनभन्दा पनि उपभोग र आयातमुखी बन्दै गएको छ ।
जसको प्रभाव हाल अर्थतन्त्रमा देखापरेको छ, अहिले हाम्रो बढ्दो व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा कमीको एउटा कारण आयात नै रहेको विज्ञको भनाइ छ । बढ्दो व्यापार घाटा कम गर्ने प्रमुख आधार आयात प्रतिस्थापन र निर्यात वृद्धि हो ।
नेपालबाट कुनै वस्तु निर्यात नै नहुने भन्ने होइन । तर, जति निर्यात हुन्छ, त्यसको कयौँ गुणा आयात हुन्छ । जसको प्रभाव नराम्ररी अर्थतन्त्रमा देखापरेको हो । नेपालको निर्यात व्यापार न्यूनतम आठ गुणाले बढाउन सकिने आँकडा विश्व बैंकले यसअघि सार्वजनिक गरेको थियो । नेपालको निर्यात क्षेत्रमा असीमित सम्भावना छन् । तर, त्यसको उपयोग गर्न हामी चुकिरहेका छौँ ।
आर्थिक वर्ष २०८०–८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार एक वर्षमा निर्यात ३.० प्रतिशतले कमी आई १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ ।
अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ३.३ प्रतिशत र ४.३ प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिनालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, ऊनी गलैँचा, ब्रान्स, जुटका सामानलगायत वस्तुको निर्यात घटेको छ । आज हामी नेपालबाट सबैभन्दा धेरै निर्यात हुने १० वस्तुको बारेमा चर्चा गर्छौं ।
१. जस्तापाता निर्यातमा छलाङ
नेपालबाट निर्यात हुने वस्तुमा जस्तापाता पहिलो नम्बरमा पर्छ । पछिल्लो समय जस्तापाताले नेपालबाट निर्यात हुने वस्तुको सूचीमा माथि रहँदै आएका, पाम, चिया–कफी, कार्पेट, अलैँचीलगायतलाई धेरै नै तल छाडिदिएको छ । नेपालमा उत्पादन भएको जस्तापाताले भारतीय बजारमा तीव्र गतिले आफ्नो उपस्थिति बढाउँदै लगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ११ अर्ब ८५ करोडको जस्तापाता निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ७ अर्ब ७० करोडको जस्तापाता निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा २ अर्ब ८४ करोडको निर्यात भएको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्ने हो भने पछिल्लो समय तीव्र रूपमा जस्तापाता निर्यात भइरहेको छ । भारतमा खासगरी पूर्वोत्तर क्षेत्रका राज्यमा नेपालको जस्तापाता लोकप्रिय रहेको छ । नेपालबाट निर्यात हुने जस्तापातामध्ये ९९ प्रतिशतजति भारत नै निर्यात हुने गरेको छ । त्यसबाहेका श्रीलंका, रोमानियालगायत देशमा पनि निर्यात हुन्छ । नेपालमा जस्तापाता उत्पादनका लागि चाहिने कच्चापदार्थ उपलब्ध छैन । स्टिल उद्योगमा कच्चापदार्थका रूपमा नेपाली बिजुली मात्रै प्रयोग हुन्छ । कच्चापदार्थ बाहिरबाटै आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
२. धागो
विदेशी मुद्रा नेपाल भित्र्याउने अर्को महत्वपूर्ण वस्तु हो– धागो (पोलिस्टर, भिस्कोस, मिश्रित धागोलगायत) । धागोले बेला–बेला नेपालको निर्यातमा कीर्तिमानी कायम गरिरहेको हुन्छ । पछिल्लो समय विश्व बजारमा नेपाली धागोको उच्च माग छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ११ अर्ब २१ करोडको धागो निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा १० अर्ब ५५ करोडको धागो निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ९ अर्ब ५१ करोडको निर्यात भएको थियो । यसरी राष्ट्र बैंकको तथ्यांकलाई केलाउँदा बर्सेनि धागो निर्यात बढ्दो छ ।
नेपालबाट निर्यात हुने धागोको ठूलो हिस्सा भारत जान्छ । त्यसपछि टर्की, दक्षिण कोरिया, जापान, भियतनाम, जर्मनी, बेलायत, फ्रान्स, इटाली, क्यानडालगायत देशमा पनि स–सानो हिस्सा जाने नेपाल धागो उत्पादक संघले जनाएको छ ।
कपडा बुन्न आवश्यक कच्चापदार्थ धागो हो । विश्वमै धागोका प्रमुख स्रोत भनेका रेसम र कपास खेती तथा भेडापालन हुन् । अन्य स्रोत पनि नभएका होइनन्, तर ती नगन्य छन् । नेपालमा उत्पादित ठूला तथा साना उद्योगबाट हाल कपडा, सर्टिङ–सुटिङ होजियरी, स्वेटर आदि विभिन्न उत्पादनमा प्रयोग हुने धागो उत्पादन भइरहेका छन् । उत्पादित धागोमध्ये ७५ प्रतिशत निर्यात हुन्छ भने २५ प्रतिशत नेपालमा खपत हुने गर्छ ।
विगतमा केही मात्रामा कच्चा पदार्थ नेपालमै उत्पादन हुन्थ्यो । पछिल्लो समय धागो बनाउनका लागि आवश्यक पर्ने कच्चापदार्थ आयातमा निर्भर छ, नेपाल । नेपाल विचित्रको हावापानीयुक्त मुलुक हो । धागोका लागि आवश्यक कच्चावस्तु तराई र पहाडमा रेसम तथा कपास खेती गरेर अनि हिमाली र पहाडी क्षेत्रमा भेडापालन गरेर जुटाउन सकिन्छ । तर, सरकारको प्राथमिकतामा नपर्दा नेपालले क्षमताअनुसारको धागो निर्यात गर्न नसकेको नेपाल धागो उत्पादक संघले जनाएको छ ।
३. गलैँचा (कार्पेट)
कुनै समय नेपालबाट निर्यात हुने वस्तुको पहिलो नम्बरमा हुने गलैँचा गत वर्ष तेस्रो नम्बरमा परेको छ । नेपाली गलैँचाको विश्व बजारमा अलग पहिचान छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा १० अर्ब ५७ करोडको गलैँचा निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ११ अर्ब ५० करोडको गलैँचा निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ९ अर्ब ५६ करोडको निर्यात भएको थियो ।
यसरी पछिल्ला वर्षको तथ्यांकलाई आधार मान्ने हो भने गलैँचा निर्यात घट्दो छ । नेपालमा बनेका गलैँचाको बजार भनेको नै अन्तर्राष्ट्रिय बजार हो । उत्पादन भएका अधिकांश गलैँचा विदेशमा नै निर्यात हुने गर्दछ । नेपाली गलैँचा हाल अमेरिकासहित विश्वका ५० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने नेपाली गलैँचा अमेरिकीले सबैभन्दा बढी रुचाएको पाइन्छ । नेपालबाट स्वदेशी कच्चापदार्थ प्रयोग गरेर उत्पादन हुने वस्तुमा गलैँचा नै प्रमुख निर्यातयोग्य वस्तु हो ।
नेपाली गलैँचा विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र भए पनि यस क्षेत्रले सरकारको साथ पाएको छैन । अहिले विश्व आर्थिक मन्दीको चपेटामा परेको छ । कोरोना भाइरसको प्रभाव त्यसपछि रुस–युुक्रेनको युद्धले थलापरेको नेपालसहित विश्वकै अर्थतन्त्र अझै लयमा फर्किन सकेको छैन । अर्थतन्त्रमा देखिएको मन्दी अरू क्षेत्रमा जस्तै गलैँचा उद्योगमा पनि परेको तर्क गर्छन्, नेपाल गलैँचा उत्पादक तथा निकासी संघ । अन्तर्राष्ट्रिय बजारमा गलैँचाको माग राम्रो भए पनि उत्पादन लागत उच्च हुँदा मूल्य महँगो पर्न गएको र यसको असर निकासीमा परेको छ ।
४. जुस
नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये एक हो – जुस । बर्सेनि जुस निर्यातबाट नेपालले ठूलो विदेशी मुद्रा आर्जन गरिरहेको छ । विगतमा धेरैले कल्पना नगरेको जुस निर्यातको पछिल्लो अवस्थाले गुणस्तरीय उत्पादन र निर्यात प्रोत्साहन हुने हो भने हाम्रो कृषिकै विकासले आर्थिक वृद्धिदर बढाउन सक्छ भन्ने देखाएको छ । यसका क्षेत्र अथाह छ । तर, अझ हामीले त्यसअनुरूप निर्यात गर्न सकिरहेका छैनौँ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ८ अर्ब ६५ करोडको जुस निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ६ अर्ब ६२ करोडको जुस निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ६ अर्ब ७ करोडको निर्यात भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्दै गएपछि थप निर्यातको सम्भावना देखिएको छ । नेपालमा उत्पादन भएको जुस भारतपछि बंगलादेश, चीन, इटाली, कोरिया, माल्दिभ्सलगायतका देशमा निर्यात हुने गर्छ । सरकारले शक्तिवर्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र कृत्रिम जुस (फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स)को आयातमा प्रतिबन्ध लगाएसँगै स्वदेशी जुसको निर्यातमा वृद्धि भएको हो । शक्तिवद्र्धक पेय र कृत्रिम जुसको आयातमा पाँच वर्षदेखि प्रतिबन्ध छ । अत्यावश्यक वस्तुबाहेक स्वदेशमै उत्पादन हुने वस्तुको आयातमा नियन्त्रण वा भन्सार दर उच्च राखी आयात प्रतिस्थापन गर्ने नीतिको औचित्य जुस निर्यातमा भएको वृद्धिले पुष्टि गर्छ ।
५. अलैँची
नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा बढी निर्यात हुँदै आएको वस्तुको हो– अलैँची । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो योगदान रहेको अलैँची देशभर ४३ भन्दा बढी जिल्लामा उत्पादन हुँदै आएको छ । करिब ७० हजारभन्दा बढी परिवार आश्रित रहेको अलैँची क्षेत्रबाट नेपालले वार्षिक अर्बौं रुपैयाँको निर्यात गर्दै आएको छ । उत्पादनमध्ये ४ प्रतिशत मात्रै नेपाली बजारमा खपत हुने अलैँची पूर्ण रूपमा निर्यात हुने गर्छ । तर, पछिल्लो समय अलैँचीको निर्यात घट्दो क्रममा छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ७ अर्ब ९३ करोडको अलैँची निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ८ अर्ब २५ करोडको अलैँची निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ४ अर्ब ७७ करोडको निर्यात भएको थियो । नेपालबाट निर्यात हुने अलैँचीको ठूलो हिस्सा भारत रहेको छ । भारतबाहेक पाकिस्तानमा पनि अलैँची निर्यात हुँदै आएको छ ।
जति यसका सम्भावना छन्, त्योभन्दा कैयौँ गुणा बढी अलैँची क्षेत्रमा समस्या रहेको नेपाल अलैँची व्यवसायी संघले जनाएको छ । नेपाल विश्वमै सबैभन्दा धेरै अलैँची उत्पादन गर्ने देश हो । नेपालमा ५५–६० प्रतिशत अलैँची उत्पादन हुन्छ । बाँकी भारत र भुटानमा हुन्छ । तर, नेपालमा जति पनि अलैँची उत्पादन हुन्छ, प्रायः भारतकै बजारमा निर्भर भइरहेको छ भने थोरै मात्र हिस्सा पाकिस्तान जान्छ । नेपालबाट जाने अलैँची ६० प्रतिशत भारतमै खपत हुन्छ भने बाँकी ४० प्रतिशत नेपाली अलैँची बान्डिङ गरी अन्य देश निर्यात गर्ने गरिएको छ ।
नेपालमा उत्पादन भएको अलैँची निकै गुणस्तरको हुन्छ । जसले गर्दा भारतले नेपालको अलैँची आयात गरी विश्वबजारमा हाफ्नो ब्रान्ड बनाएर निर्यात गर्दै लाभ लिइरहेको छ । भारतले नेपालबाट आयात गरेको अलैँचीलाई प्रशोधन तथा प्याकेजिङ गरी साउदी अरब, युएई, बंगलादेश र पाकिस्तान निर्यात गर्छ ।
नेपालले पनि भारतबाहेक अन्य देशमा निर्यातका लागि प्रशोधन, प्याकेजिङ र व्यावसायिक सहजीकरणमा ध्यान दिने हो भने भारतमा बिक्री गर्ने मूल्यको तुलनामा बढी फाइदा लिन सक्छ । त्यसका लागि अलैँची खेतीलाई आधुनिक र व्यवस्थित गर्न तथा अन्तर्राष्ट्रिय बजारको आधिकारिक सुनिश्चितताका लागि पनि सरकारलाई पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।
६. पार्टिकल (फर्निचर) बोर्ड
नेपालले निर्यात गर्ने वस्तुमध्ये पार्टिकल बोर्ड पनि एक हो । नेपालबाट उत्साहजनक रूपमा भारततर्फ पार्टिकल बोर्ड निर्यात हुँदै आएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ७ अर्ब ४१ करोडको पार्टिकल बोर्ड निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ४ अर्ब ७० करोडको पार्टिकल बोर्ड निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३५ करोडको निर्यात भएको थियो ।
भारतको वन मन्त्रालयले आगामी पाँच वर्षसम्म वन कटान नगर्ने र जंगल संरक्षण गर्ने नीति अघि सारेपछि नेपालबाट पार्टिकल बोर्ड आयात गरेर त्यहाँको माग धान्दै आएको छ ।
७. जुटका सामग्री
कुनै बेला पूर्वी तराईका मोरङ, सुनसरी र झापामा जुट खेती मनग्य हुन्थ्यो । उत्पादित जुट कच्चापदार्थका रूपमा प्रयोग गरी दर्जनभन्दा बढी उद्योग सञ्चालनमा थिए । तर, पछिल्लो समय जुट खेती खुम्चिँदै जाँदा उद्योग पनि बन्द हुँदै गएका छन् । भएका उद्योगहरू आयातीत कच्चा पदार्थमा भर पर्न बाध्य छन् । नेपालमा ३० प्रतिशत जुटको कच्चा पदार्थ उत्पादन हुन्छ भने बाँकी ७० प्रतिशत भारत र बंगलादेशबाट आयात गर्नुपर्ने अवस्था रहेको नेपाल जुट संघले जनाएको छ । जसको प्रत्यक्ष असर निर्यातमा परेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ६ अर्ब ७५ करोडको जुटका सामाग्री निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ७ अर्ब २४ करोडको जुटका सामाग्री निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ७ अर्ब ४९ करोडको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय जुटका सामग्री निर्यात क्रमश घट्दो क्रममा छ ।
खेती गर्न आर्थिक र प्राविधिक सहयोग दिने जुट विकास केन्द्र बन्द भएसँगै पछिल्लो समय किसानले खेती छाडेका छन् । जसका कारण निर्यातमा कमी आएको छ । मुलुकको आर्थिक विकासमा जुट क्षेत्रको ठूलो महत्व रहेको छ । कच्चा जुट निर्यातबाट बढ्दो व्यापार घाटा कम गर्न धेरै सहयोग पुग्ने देखिन्छ । सरकारले अहिले पनि उच्च प्राथमिकता दिने हो भने जुट क्षेत्रले देशलाई अझ ठूलो योगदान दिने देखिन्छ ।
८. पाम तेल
केही वर्षअघिसम्म नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको पहिलो नम्बरमा नेपालमा उत्पादन नै नहुने पाम आयल पर्ने गरेको थियो । तर, पछिल्लो समय रिफाइन्ड गरिएको पाम तेलको निर्यात घट्दो छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ६ अर्ब ३३ करोडको पाम तेल निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा २० अर्ब ५० करोडको पाम तेल निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ४१ अर्ब ६ करोडको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय पाम तेलको निर्यात क्रमशः घट्दो क्रममा छ ।
विदेशबाट कच्चा पाम तेल ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर भारतबाट पठाइन्छ । यो एकप्रकारको वनस्पतिजन्य तेल हो । अफ्रिकी मुलुकमा उत्पत्ति भएको यो तेल हाल इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन गरिन्छ । नेपाली तेल व्यवसायीले इन्डोनेसिया, मलेसिया र थाइल्याण्डबाट पाम आयल नेपाल ल्याएर भारत निकासी गर्दै आएका छन् ।
९. तयारी पोसाक
तयारी पोसाक आयात मात्रै होइन, निर्यात पनि हुने गरेको छ । पछिल्ला केही वर्षयता तयारी पोसाकको निर्यात बढ्दो छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ६ अर्ब २९ करोडको तयारी पोसाक निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ५ अर्ब ८३ करोडको तयारी पोसाक निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ४ अर्ब ८८ करोडको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय तयारी पोसाकको निर्यात बढ्दो क्रममा छ ।
नेपालमा सन् २००२ अघि तयारी पोसाकको बजार र निर्यात राम्रो भए पनि विभिन्न कारणले उद्योग बन्द भएर समस्या आएको थियो । तर, पछिल्लो समय विस्तारै तयारी पोसाकले गति लिँदै छ । नेपाली तयारी पोसाक अन्तर्राष्ट्रिय बजारमा मुख्यतया युरोपेली राष्ट्र, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, जापान र क्यानडालगायत राष्ट्रमा निर्यात हुँदै आएको छ । नेपाली निकासीका उत्पादनका वर्गमा बोटम्स, सर्ट, ड्रेस, स्कर्ट, टप र ज्याकेट, कपास, इको फेब्रिक्स, इकोफ्रेन्डली कपडा, रेयान र मानव निर्मित फाइबर, ऊन र रेशम समावेश छन् ।
१०. चिया
अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाको माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा नेपालले चिया निर्यात गर्दै आएको छ । नेपालमा उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ । पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०–०८१ मा ३ अर्ब ६१ करोडको चिया निर्यात भएको छ । यस्तै, आर्थिक वर्ष २०७९–०८० मा ३ अर्ब ९३ करोडको चिया निर्यात हुँदा आर्थिक वर्ष २०७८–०७९ मा ३ अर्ब ४२ करोडको निर्यात भएको थियो । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्दा पछिल्लो समय चियाको निर्यात घढ्दो क्रममा छ ।
सिटिसी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मनलगायत मुलुकमा निर्यात हुन्छ । सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगीमार्फत विदेश निर्यात हुन्छ । पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ ।
पछिल्लो समय स्पेसल किसिमको चियामा लागतअनुसार मूल्य नपाउँदा उत्पादकले चिया बिक्री नगरी मौज्दात राख्दा निर्यातमा कमी आएको छ । भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर लैजाने र विश्व बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको छ । उत्पादन राम्रो भएको भए पनि अपेक्षित रूपमा बजार प्राप्त गर्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।