संसदीय छानबिन विशेष समितिले शुक्रबार पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित छानबिन समितिले भाेलि नै पूर्वडिआइजी छविलाल जोशीको पनि बयान लिने तयारी गरेकाे छ ।
जाेशी तत्कालीन गोर्खा मिडिया नेटवर्कमा रवि लामिछानेका साझेदार थिए । गोर्खा मिडिया नेटवर्कमा दुई ठूला सहकारी संस्थाको बचत रकम लगानी गरिएको थियाे ।
शुक्रबार ११ बजे बयानका लागि जोशीलाई बोलाइएकाे छ । उनको बयान सकिएलगत्तै पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकाे बयान लिने तयारी समितिले गरेकाे छ ।
हाल फरार रहेका गितेन्द्रबाबु राई (जिबी), रवि लामिछाने र छवि जाेशी गोर्खा मिडिया नेटवर्कका साझेदार थिए । जाेशीकाे यसअघि नै बयान लिने तयारी गरिए पनि उनकी आमाको निधन भएकाले बयान पछि सरेकाे थियाे ।
पूर्वगृहमन्त्रीसमेत लामिछानेलाई भदौ २ गते नै सोधपुछ गर्ने कार्यसूची भए पनि छविकाे बयान लिएपछि मात्रै उनकाे बयान लिने तयारी समितिले गरेकाे हाे ।
जोशीको बयान नलिई रविलाई सोध्न प्रमाण नपुग्ने भएकाले म्याद सारिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।