कस्ताे हाेला ‘आँधीको मनोरम नृत्य’ ?

काठमाडौं– किशोर मनोविज्ञानलाई नजिकबाट केलाएर नाटकमा व्यक्त गर्न खोज्दै छन्, नाटककार घिमिरे युवराज । केही दिनमै शिल्पीमा ‘आँधीको मनोरम नृत्य’ लिएर आउँदै छन् उनी । 

शिल्पी थिएटरको प्रेक्षालयमा झन्डै एक महिनादेखि यो नाटकको रिहर्सल भइरहेको छ । यसको निर्देशन गर्दै छन्, घिमिरे युवराज र अमजद प्रवेजले । निर्देशनमा अवतार पाठकले सघाएका छन् । युवराजको टिम रिहर्सलको अन्त्यतिर छ ।

२१ वैशाखदेखि मञ्चन गर्ने तयारीअनुरुप रिहर्सलको रफ्तार बढ्दो छ । नाटकको कथावस्तु सांसारिक छ । गहन र समसामयिक छ । यसलाई जीवन्तता दिन कलाकारहरु बडो मिहिनेतसाथ अभ्यास गरिरहेछन् । निर्देशकद्वय नाटकमा प्राण भर्न लागिपरेका छन् । 

पछिल्लो समय नेपाली समाज निकै बदलियो । अनेक बदलाबका बाबजुद भित्रभित्रै गडेको अन्धविश्वासको जरो भने अझै उखेलिएको छैन । यसको प्रत्यक्ष मारमा छन्, किशोर–किशोरी । विद्यालय होस् या परिवार, या त समाज । उनीहरु स्वतन्त्र भएर मनको भावना पोख्ने ठाउँ पाइरहेका छैनन् । केही भन्न खोजिरहेका छन्, तर भन्न सक्दैनन् । भनिहाल्दा पनि परिवारले, विद्यालयले, समाजले उनीहरुको भावना बुझिदिँदैन । बरु, आफ्नो नियममा जबरजस्ती बाँध्न खोज्छ । 

तर, उनीहरू त्यो बन्धनबाट आजाद हुन चाहन्छन् । आफ्नो मनको भावना पोख्ने साथीको खोजीमा हुन्छन् । केटा वा केटी जोसुकैलाई भावनाका साथी बनाउँछन् । केटीले केटा र केटाले केटी साथी बनाउँदा त झन् समस्या निम्तिन्छ परिवारमा, समाजमा । 

त्यसपछि केटाकेटीले आफ्ना कुरा राख्न त्यति सहज मान्दैनन् । किशोरावस्थामा अनेकन विचार, भावना, इच्छा, चाहना त उत्पन्न हुने नै भयो । किशोरकिशोरीमा छुट्टै ऊर्जा, जोस, छटपटी हुन्छ । किशोरावस्थाका यस्तै इच्छा, चाहना, छटपटी, र आइपर्ने समस्यालाई टपक्क टिपेर ल्याएका छन् घिमिरे युवराजले र नाटक बनाएका छन् । यी सबै पक्ष नाटकमा सबल रुपमा आएका छन् । यसले दर्शकका मनमा अवश्य प्रश्न उठाउनेछ ।



नाटकको नाम आँधीहरुको मनोरम नृत्य भए पनि कलाकारहरुको मनमा अहिले मनोरम होइन, ठूलो बबन्डर मच्चाउने आँधी चलिरहेको छ सायद । सबै आ–आफ्नो क्यारेक्टरलाई बलियो बनाउन मरिमेटेका छन् । स्टेजमा अभ्यास गर्न आएका कलाकारलाई देख्दा यो प्रस्टै बुझिन्थ्यो । नजानिने किसिमले उनीहरु एकअर्कालाई इसारा गरिरहेका छन् । आफ्नो डायलग प्रस्टसँग बोल्न खेजिरहेका छन् । तर, अझै कहिँकतै बिग्रिन्थ्यो । त्यसलाई सपार्न खोजिरहेछन् उनीहरु । एकअर्काको अभिनयमा निखार, पूर्णता, जीवन्तताको खोजीमा छन् उनीहरु । निर्देशकद्वय उनीहरुलाई हेरेर मुस्कुराउँथे । भन्थे, ‘आ–आफ्नो प्लेस याद गर, लाइटमा ध्यान देऊ ।’ त्यतिबेला कलाकारहरु थप सचेत हुन्थे ।



मञ्चभरि फलामे खम्बा, भित्ता र डन्डी ठड्याइएका छन् । कलाकारहरु रिहर्सलमा लीन छन् । नाटक अवधिभर ती प्रप्सहरुलाई यता–उता सारिरहनुपर्ने अवस्था छ । कलाकारहरु त्यसलाई बिल्कुलै शान्तिपूर्वक सार्न अभ्यास गरिरहेका छन् । निर्देशक युवराज ‘विस्तारै–विस्तारै गर’ भन्दै निर्देश गरिरहेका छन् ।

रंगमञ्चमा एउटा दृश्यबाट अर्को दृश्यमा जाँदा बीचमा प्रकाश बन्द गरिन्छ । त्यो अन्धकारमा कलाकारहरुले सेटलाई यता–उता सार्नुपर्ने हुन्छ । त्यतिबेला एकअर्कासँग ठोकिने सम्भावना रहन्छ । निकै सावधानीपूर्वक हुनुपर्छ यो काम । यसैको अभ्यास भइरहेको थियो त्यहाँ । कलाकारहरु सावधानीपूर्वक गर्न खोजिरहेका देखिन्थे । तर पनि कतै–कतै ठोकिएर आवाज आइरहेको थियो । ‘नआत्तिकन विस्तारै गर,’ भन्दै थिए निर्देशक घिमिरे । 

कलाकारका लागि यो अवस्था निकै चुनौतीपूर्ण हुन्छ । एकातिर क्यारेक्टर फुस्किने डर हुन्छ, अर्कोतिर केही बिग्रेला कि भन्ने पिर । 

आ–आफ्नो सिन सकिएपछि उनीहरु ब्याकस्टेज जान्थे । ब्याकस्टेजमा केही गुनगुन सुनिन्थ्यो । निर्देशक यतैबाट जोरले कराउँथे, ‘ब्याकस्टेजमा गइसकेपछि बोल्ने होइन ।’

एउटाको पालो स्टेजमा हुँदा अरु कलाकार मञ्चको दायाँ–बायाँ छेउछाउमा आफ्नो पालो कुरेर बसेका छन् । उनीहरु मञ्चमा कताबाट छिर्ने, कताबाट निस्किने अभ्यास गरिरहेका देखिन्थे । कहिलेकाहीँ कोही ढिलो आउने, कोही चाँडो हुने गडबडी चलिरहेको थियो ।

कलाकारले आ–आफ्नो क्यारेक्टर र प्लेसलाई निकै ध्यान दिए पनि कतै–कतै लाइटको समस्या देखिन्थ्यो । कलाकारलाई भन्दा ज्यादा प्रकाश परिचालकलाई निर्देशन गरिरहेका थिए घिमिरे युवराज ।

यो नाटकमा लाइभ म्युजिकको प्रयोग गरिएको छ । गायन समूह पनि नाटकलाई मार्मिक बनाउन मिहिनेत गरिरहेका छन् । निर्देशक उनीहरुलाई कहिले विस्तारै त कहिले जोडले गाउन सिकाइरहेका छन् ।

‘सधैँ परिवार, विद्यालय, समाजको दृष्टिकोणबाट नाटक बनाइन्थ्यो । यसपालि भने किशोर–किशोरीलाई परिवार, विद्यालय र समाजका कारण कस्ता–कस्ता अप्ठ्यारा वा समस्याहरु आइपर्छन् र उनीहरु के सोचिरहेका हुन्छन् भन्ने कुरामा परिवार, विद्यालय र समाजलाई सचेत गराउने उद्देश्यले नाटक बनाएको छु,’ ब्रेकमा गफिँदै निर्देशक युवराजले भने । नाटक हेरेपछि जुनसुकै अभिभावकले आफ्ना छोराछोरीको अवस्था बुझ्न वा उनीहरुसँग कुरा गर्न खोजून् भन्ने उनको उद्देश्य छ ।

२१ वैशाखदेखि ६ जेठसम्म मञ्चन हुने नाटकमा सौरभ सिंह, सविन कट्टेल, मन्जु श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगीता उराँव, गोविन्द ओली, सन्जु कार्की, विवेक चौलागाईं, प्रकाश खनाल, सन्तराम पासी, पे्रम खतिवडा, हिमाल भुलेल, सुरेश सार्की लगायतका कलाकारको अभिनय रहनेछ । 

प्रत्यक्ष संगीतमा स्मारिका फुँयाल, निमन चित्रकार, रविन परियार, सन्तोष कपाली छन् । सहयोगीका रुपमा सुमित भन्डारी, सञ्जय शाही र यशोदा सापकोटा छन् ।प्रकाश परिचालनमा मानाङ लावती छन् ।

  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार ११:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया