logo-img

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको तयारी, निजी क्षेत्र उत्साही [भिडियोसहित]

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्य योजना सहित प्रक्रिया अघि बढाएको छ । 

निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियत लगायतका आकर्षक प्याकेज ल्याउने भएको हो । गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधार सम्बन्धी कार्य योजना स्वीकृत गरेको थियो । 

दुवै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीतिअनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ । निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले यही भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोमिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ ।  सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि ०८३ भदौसम्म नलिने जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौंको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्य योजना बनाइएको छ । अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरका लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना रहेको छ ।

गत साउन १८ गते प्रधानमन्त्री ओलीले निर्माण भएको लामो समयसम्म दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नभएर घाटा व्यहोर्नुपरेको तथा काठमाडौं विमानस्थलको क्षमताभन्दा बढी उडान र यात्रु व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई गम्भीर रूपमा लिन आग्रह गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई थाइल्यान्डबाट नेपाल उडान गर्न अनुमति दिएको छ । क्यानले थाई एयर एसियालाई सातामा चार उडान भैरहवाबाट र तीन उडान काठमाडौंबाट गर्ने स्वीकृति दिएको हो । उक्त एयरलाइन्सले आगामी असोज ४ गतेदेखि काठमाण्डौंबाट उडान गर्ने गरी अनुमति लिएको छ । कुवेतको जाजिरा एयरले पनि आगामी असोज ९ गतेदेखि गौतम बुद्ध विमानस्थलमा पुनः उडान गर्ने गरी क्यान समक्ष कागजात पेस गरेको छ । 



एयर एशिया र जजीरा एयरले उडान गर्ने भने पनि उडान तालिका अहिले सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छैन । विमानस्थलका प्रवक्ता बज्राचार्यले आफूले पनि अहिले सम्म समाचारको माध्यमबाट उडान हुने कुरा सुने पनि यसको औपचारिक जानकारी प्राप्त नभएको बताए । सरकारले विमानस्थल सञ्चालन हुने जनाइरहँदा निजी क्षेत्रले पनि यसको तयारी बढाएको छ । 

विमानस्थल सञ्चालनमा सरकार तदारुकताका साथ लागेकोले यसको सञ्चालनमा अब शङ्का नगर्न राष्ट्रिय सभाका पूर्व सदस्य एवम् एमाले नेता खिमलाल भट्टराईले आग्रह गरे । एयरलाइन्सले विगतमा १० महिना उडान गरेर उडान स्थगित गरेको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको थियो । यहाँ केही समय अन्तर्राष्ट्रिय उडान भए पनि अहिले ठप्प रहेको छ । 



  • प्रकाशित मिति : भदौ ७, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया