नागरिक उन्मुक्ति पार्टी, बागमती प्रदेश समितिले टीकापुर हत्याकाण्ड सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
शुक्रबार टीकापुर हत्याकाण्ड भएको नौ वर्षको अवसरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नाउपा बागमती प्रदेश समितिले उक्त प्रतिवेदन सार्वजनिक गरी नाउपालाई उन्मुक्ति दिन माग गरेको हो । नाउपा बागमती प्रदेश समिति उपाध्यक्ष राजेश्वर दास श्रेष्ठले सरकारले राजनीतिक घटनालाई अपराधीकरण गरेको बताए ।
टीकापुर घटनाको वास्तविकता बाहिर ल्याउनका लागि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले टीकापुर हत्याकाण्डलाई ‘राज्यद्वारा घटाइएको बर्वतापूर्ण घटना’को संज्ञा दिए । नाउपाका केन्द्रीय उपाध्यक्ष राजेश अधिकारीले तत्कालीन समयमा स्थानीय स्वायत्तसहितको प्रदेश पाउनुपर्छ भनेर नागरिकहरूले आवाज उठाउँदै गर्दा अखण्ड सुदूरपश्चिमको नाममा जनता विभाजित गराएर द्वन्द्वको अवस्था सिर्जना गराइएको बताए ।
उनले भने, ‘केही व्यक्तिले अखण्ड सुदूरपश्चिमको कुरा गर्दै थिए । कसैले थरूहटका कुरा गर्दै थिए । थरूहटका कुरा गर्दै गर्दा अखण्ड सुदूरपश्चिमवालाहरूसँग आक्षेपका कुरा आए, प्रहरीले पर्याप्त मात्रामा सुरक्षा दिन सकेन । प्रहरी प्रशासनले थप बल पठाउनुपथ्र्यो । कुनै किसिमको तयारी नगरेको आवस्थामा प्रहरीले उपस्थिति मात्रै जनाउँदा दुर्भाग्यवश द्वन्द्व भयो । धेरैजनाले सहादत प्राप्त गर्नुभयो । महिनौँ दिनसम्म राज्यपक्षबाट नै आतंक फैलाइयो ।’
टीकापुर घटनापछि थारूहरूको ८४ वटा घर जलाइएको र थारू चेलीबेटीमाथि राज्यपक्षबाट बलात्कारजस्ता निकृष्ट घटना घटाइएको उनको दाबी छ । उक्त घटनाबाट पीडित थारूहरूलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको माग छ ।
यस्तै, बागमती प्रदेशका अध्यक्ष दलबहादुर तामाङ र नाउपा बागमती प्रदेश सदस्य एवं पार्टीको युवा संगठनका प्रमुख विश्वास लामाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखेका थिए ।
२०७२ भदौ ७ गते आजकै दिन कैलालीको टीकापुरमा सातजना प्रहरी र एकजना बालकको ज्यान जानेगरी हत्या भएको थियो । उक्त विद्रोहमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितको टोलीमाथि खुर्पा, भाला, बञ्चरो, खुकुरीलगायत घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो ।
वरिष्ठ प्रहरी उपरीक्षक न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार लक्ष्मण खडका, प्रहरी जवान लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद र सशस्त्र प्रहरी जवान रामविहारी चौधरी र दुई वर्षीय बालक टेकबहादुर साउद उक्त घटनामा मारिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।