अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार-दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको हो ।
खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना ग्लोरीले पहिलो गोल गरेका थिए । त्यस्तै प्रतिरक्षाका लागि खेल सुरु भएको ५६औँ मिनेटमा बिर्तामोड क्लबका खेलाडी सञ्जय सुब्बाले गोल गरेसँगै खेल बराबर भएको थियो ।
निर्धारित समयमा बराबर भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा ४–२ गोलअन्तरले सिरहा फाइनलमा प्रवेश गरेको हो । सिराहाका खेलाडी जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरेका थिए । त्यस्तै झापाका खेलाडी प्रदीप भण्डारी र रोहन कार्कीले मात्र गोल गर्दा खेल सिरहाको पक्षमा भएको थियो ।
झापाले विभागीय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । सोमबार मोरङसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।