logo-img

गौरा पर्व मनाउन घर फर्किंदै परदेशी

सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो । आजदेखि गौरा सुरु हुने हुँदा लामो समयसम्म रोजगारीको सिलसिलामा भारत गएका प्रदेशीहरू घर फिर्ता हुन लागेका हुन् ।

गौराका लागि सीमानाका खलंगाबाट स्वदेश भित्रिनेको संख्या निकै बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक तीन सयभन्दा बढी नेपाली दार्चुलाको दत्तु, जौलजीवी, लाली र खलंगा नाकाबाट स्वदेश फर्किरहेको कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

भारतमा रोजगारीका लागि जानेहरू विशेषगरी चाडपर्वको समय मिलाएर घर फर्कने गरेका छन् । सुदूरपश्चिममा  गौराको समयमा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउने चलन छ ।

यहाँका स्थानीयले गौरालाई बढी महत्वका साथ मनाउने गरेका छन् । गौराको समयमा परिवार र गाउँका मानिस एक ठाउँमा जम्मा भएर सुख दुःख साटासाट गर्छन् । यसले सामाजिक सद्भावमा पनि वृद्धि गरेको जानकारहरू बताउँछन् । भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने सुदूरपश्चिममा मुख्य पर्वका रूपमा मनाइने गौराको अवसरमा बसाइँसराइ गरेर गएकाहरू पनि आफ्नो थातथलोमा फर्कने गर्छन् ।

पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखालो (मन्दिर परिसर)मा खेल हुने भएकाले पनि बसाइँसराइ गरेकाहरू पुर्ख्याैली थलोमा फर्किन गरेका हुन् ।

संस्कृतिका जानकार मोहनराज पन्तले गौरा वर्षौ बिछोडिएका आफन्त तथा गाउँलेबीच भेटघाट तथा जमघट हुने भएकाले यसलाई सामाजिक सद्भावको पर्वका रूपमा समेत लिने गरिएको बताए । उनकाअनुसार अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ । त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ ।



जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि यहाँका ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन रहेको छ ।



  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया