logo-img

भारतमा मृत्यु भएका तीन युवाको शव नेपाल ल्याइँदै

भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् ।

नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् ।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका-२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।

पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतो बताइन् । मृतक तीनजनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिइन् ।

“मैले मृतकका परिवारलाई भेटिसकेकी छु । मृतक तीनजनाकै आर्थिक अवस्था कमजोर रहेछ”, नगरप्रमुख महतोले भनिन्, “मृतकका परिवारलाई राहत दिने विषयमा अब बस्ने कार्यपालिका बैठकले निर्णय गर्नेछ ।”



परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रूद्रप्रयागमै दाहसंस्कार गरिने जानकारी प्राप्त भएको उनले जानकारी दिइन् । पेट्रोलपम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए । 



  • प्रकाशित मिति : भदौ ८, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया