logo-img

निजीमा सहजै पाइने औषधि किन राख्दैनन् सरकारी अस्पतालका फार्मेसी ?

वीर अस्पतालको मूल भवनको भुइँतल्लामा शुक्रबार दिउँसो औषधि लिनेहरूको खचाखच भीड थियो । तर, अस्पतालभित्रका फार्मेसीमा सबैखाले औषधि नपाइएको भन्दै बिरामीका आफन्त गुनासो गरिरहेका थिए । अस्पतालभित्रको फार्मेसीमा औषधि नपाएपछि उनीहरू अस्पतालबाहिर रहेका निजी फार्मेसीमा धाइरहेका थिए ।
 
आफन्तको खुट्टामा समस्या भई उपचार गर्न आएका नुवाकोटका राजन थापाले चिकित्सकले प्रेस्क्रिप्सन गरेको औषधि फार्मेसीमा नपाएको गुनासो गरे । ‘चिकित्सकले पाँचथरि औषधि लेखिदिएका छन् । तर, यहाँ दुईथरि मात्रै पाइयो,’ थापाले गुनासो गरे, ‘अन्य औषधि निजी फार्मेसी किन्नुपर्ने रहेछ । त्यहीँबाट किनेर ल्याउनुपर्ला ।’ 

यस्तै, अत्यधिक टाउको दुख्ने र आँखा वरिपरि पनि दुखाइको पीडा महसुस गरेपछि मैतीदेवी बस्ने निर्मला कार्की शुक्रबार वीर अस्पताल स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् । स्वास्थ्य परीक्षणपश्चात् चिकित्सकले निर्मलालाई पिनासको लक्षण देखिएको भन्दै टाउकोको एमआरआई गर्न तथा एकसाता ‘मोडोमोल’ र एन्टिबायोटिक औषधि लिन भनेर प्रेस्क्रिप्सन लेखिदिए ।
 
कार्की चिकित्सकले लेखिदिएको प्रेस्क्रिप्सन लिएर अस्पतालको फार्मेसी लाइनमा लागिन् । करिब एक घण्टा लाइनमा कुरेपछि उनको पालो आएको थियो । तर, उनलाई प्रेस्क्रिप्सन गरिएको औषधि फार्मेसीमा उपलब्ध नभएको फर्मासिस्टले जानकारी दिए । उनले फर्मासिस्टलाई फेरि प्रश्न गरिन्, ‘औषधि कहाँ किन्ने त ?’ फर्मासिस्टले अस्पतालबाहिरका निजी फार्मेसीमा जान सुझाएपछि उनी निजी फार्मेसीतिर लागिन् । 
 
वीर अस्पतालमा बिरामीका आफन्त चिकित्सकले प्रेस्क्रिप्सन गरेको पूरा औषधि नपाउनु, बढी लाइनमा बस्नुपर्ने तथा फार्मेसीमा बस्नेको हप्की सुन्नुपर्ने हुँदा अस्पतालभित्रको फार्मेसीमा औषधि लिनेको आकर्षण कम हुँदै गइरहेको आभास हुन्छ । 

ब्राण्डको मारमा बिरामी 

अस्पतालभित्रैको फार्मेसीमा औषधि नपाउनुको अर्को कारण चिकित्सकले बिरामीलाई औषधि सुझाउँदा ब्राण्ड अर्थात् व्यापारिक नाममा लेखिदिनु हो । लामो लाइनबाट फार्मेसी काउन्टरमा पुगेकी पनौतीकी सीतादेवी पराजुलीले चिकित्सकले लेखिदिएको ब्राण्डको औषधि नपाएपछि जेनेरिक औषधि लिन इन्कार गरिन् । ‘चिकित्सकले लेखिदिएको औषधि यहाँ छैन रे ! अब अर्को फार्मेसीबाट नै औषधि लिन्छु,’ सीतादेवीले भनिन् । 

अधिकांश चिकित्सकले बिरामीलाई औषधि सुझाउँदा जेनेरिक अर्थात् त्यसमा रहेको रासायनिक मिश्रणको नामबाट नभई ब्राण्ड अर्थात् व्यापारिक नाममा लेखिदिने गरेको वीरका फर्मासिस्टहरू बताउँछन् । अस्पताल फार्मेसी निर्देशिका २०७२ मा जेनेरिक नामबाट प्रेस्क्राइब गर्नुपर्ने प्रस्ट व्यवस्था छ । तर, सरकारी अस्पताल स्वामित्वका औषधि फार्मेसीमा चिकित्सकले जेनेरिकमा नभई ब्राण्डमा गरिने प्रेस्क्राइबले बिरामीहरू थप मर्कामा परिरहेको सरोकारवाला बताउँछन् ।

यता, वीर मात्र नभएर त्रिवि शिक्षण अस्पतालको दृष्य पनि भिन्न छैन । कीर्तिपुर नयाँ बजारका राजीव श्रेष्ठ आमालाई उपचार गराउन बिहीबार अस्पताल गए । स्वास्थ्य परीक्षणपछि आमाको फोक्सोमा खराबी भएको चिकित्सकले जानकारी दिए । चिकित्सकले लेखिदिएको औषधि राजीवले अस्पतालको फार्मेसीमा नपाएको बताए ।



सस्तो मूल्य पर्ने औषधि मात्र पाइने गरेको उनको भनाइ छ । ‘लामो लाइनमा बसेर काउन्टरमा पुग्दा औषधि छैन । स्टोरबाट ल्याउनु छ, पछि आउनुहोस् यस्तै जवाफ आउँछ,’ राजीवले भने ।

के भन्छन् चिकित्सक ? 



अस्पतालले बिरामीलाई उपचार गर्ने व्यवस्थासँगै फार्मेसीको सुविधा उपलब्ध गराउनुपर्छ । स्वास्थ्य परीक्षणपछि बिरामीले अस्पतालको फार्मेसीमा औषधि खरिद गर्नेसमेत व्यवस्था गरेको छ । फार्मेसी भए पनि उचित मूल्यमा खोजेको औषधिसमेत नपाउने समस्या अहिले पनि व्याप्त छ । 

वीरमा बहुविशेषज्ञ सेवा उपलब्ध हुने भएका कारण सबै औषधि नपाइन पनि सक्ने वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल बताउँछन् । ‘गम्भीर प्रकृतिका बिरामीका लागि सबै औषधि नपाइन सक्छ,’ डा. पौडेलले भने, ‘फार्मेसीमा उपलब्ध भएका औषधि बिरामीलाई बिक्री गरिरहेकै छौँ । कहिलेकाहीँ स्टोरमा औषधि सकिने भएकाले त्यस दिन औषधि नपाइएको पनि हुनसक्छ ।’ 

यस्तै, त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेका अनुसार औषधि आयातकर्ताले समयमा औषधि आपूर्ति नगर्दा पनि फार्मेसीमा औषधिको अभाव हुने गरेको छ । पुरानो मूल्यमा औषधि नदिने र नयाँ मूल्य तोकेर दिन आयातकर्ता केही ढिलाइ गरिरहेको उनको भनाइ छ ।

‘आयातकर्तासँग एक वर्षका लागि सम्झौता गरिन्छ । कम्पनी नहटेसम्म एक–एक वर्षमा सम्झौता नवीकरण हुने गरेको छ,’ प्रा.डा. काफ्लेले भने । उनले पनि फार्मेसीमा औषधि सकिएको समयमा बिरामी औषधि किन्न जाँदा औषधि नपाएको हुनसक्ने बताए ।

‘औषधि उपलब्ध नभएको समयमा बिरामीहरू बाहिरका मेडिकल फार्मेसीमा गएको हुन सक्छ । तर, अस्पतालको फार्मेसीमा औषधि नपाइने भन्ने हुँदैन,’ उनी भन्छन् ।  

  • प्रकाशित मिति : भदौ ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया