सुदूरपश्चिमेलीको दसैँ–तिहारभन्दा विशेष पर्व ‘गौरा’ शनिबारबाट सुरु भएको छ । धार्मिक, सांस्कृतिक, सामाजिक एवं लोकप्रिय पर्व गौरा सुदूरपश्चिमका हिन्दु समुदायको महत्वपूर्ण एवं प्रमुख चाड हो ।
विशेषतः गौरी र महेश्वर (पार्वती र शिव)को पूजा अर्चना गरिने पर्व प्रत्येक वर्ष भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई ‘उजेली गोरा’ अर्थात् उज्यालो गौरा र कृष्णपक्षमा मनाइने गौरालाई ‘अनारी गौरा’ अर्थात् अँध्यारो गौरा भनिन्छ ।
शनिबार बिरुडा पञ्चमीमा गौरा हुने घरमा पञ्च अन्न धोएर पर्वको औपचारिक शुभारम्भ भएको छ । विवाहित महिलाहरूले बिरुडा (गत, मास, गुराँस,केराउ,गहुँ) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् ।
गौरा पर्व सहरिया मनोरञ्जनमा सीमित हुनु हुँदैन भन्ने कुरामा बल पुर्याउँछ । गौरा पर्व सांस्कृतिक एकताको पर्व हो । राजनीतिकरूपमा तछाडमछाड गरिरहेकालाई वा दलका नेताहरूले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरू जे भए पनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छ । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ ।
पर्वमा दुबोको पनि पूजा गरिने भएकाले कहीँ कहीँ दुर्वाष्टमी पनि भन्ने गरेको पाइन्छ । गौरा पर्व पश्चातमात्र यस क्षेत्रमा वर्षका अन्य चाडवाड सुरुवात हुने गर्दछन् । गौराका धार्मिक अनुष्ठान र गोरामा गाइने गीत, नृत्यहरूमा यहाँको लोकजीवन, वातावरणीय परिवेशसँग समेत सम्बधित छन् ।
केहीले भदौ ७ गते र केहीले भदौ १० गते गौरा मनाएको समेत पाइएको छ । गौरा पर्व कहिले मनाउने विवाद गरिरहनु उपयुक्त नभएपनि ठाउँअनुसार अक्षांश र देशान्तरको हिसाबले फरक फरक मितिमा गौरा पर्व मनाउने गरिन्छ । तर, गौराष्टमीकै दिन हो मुख्य गौरा मनाइने । तिथि हेर्ने ज्यातिषहरूले द्विविधामा पार्ने भएका कारण पनि मिति तलमाथि हुनसक्छ ।
गौरा पर्वमा पुरुषहरूको तुलनामा महिलाहरूको भूमिका अझ महत्वपूर्ण हुने गरेको छ । पुरुषहरू सहयोगीको रूपमा मात्र रहन्छन् । बिरुडा, भिजाउने, धुनेदेखि धार्मिक क्रियाकलापसँगै काम गर्नुहुन्छ । गौरा उपास्ने नयाँ विवाहित महिलाहरूले पतिको आयु र पुत्रपुत्रीलागको आर्शीवाद ग्रहणमा समेत महिलाहरूकै सहभागिता हुन्छ ।
गौरा र देउडा संस्कृतिको सम्बन्ध
गौरा पर्व एउटा धार्मिक अनुष्ठान हो । गौरा धार्मिक र सांस्कृतिक पर्व हो । गौरा पर्वमा खेलिने/गरिने सांस्कृतिक कार्यक्रमअन्तर्गत देउडा पनि पर्छ । देउडा गौरा पर्वको बेला मात्र खेलिन्न । तर, सुदूरपश्चिममा हुने विभिन्न जात्रा र मेलाहरूमा समेत देउडा खेल्ने चलन छ । दसैंपछि सुदूरपश्चिममा जात्राको मौसम सुरु हुन्छ । देउडा र गौराको पारस्परिक सम्बन्ध नै नभएको होइन तर त्यसभन्दा माथि धुमारी, ढुस्को, खाडो खेललगायतका गीतहरू पारस्परिक छन् । खाडो खेलमा भगवानकै गाथा गाइने गरिन्छ । कृष्ण चरित्र, रामायणलाई त्यहाँको आफ्नै ठेक भाषा र शब्दमा प्रस्तुत गरिने भएकाले संस्कृति र गौरा पर्वको सम्बन्ध समेत उत्तिकै महत्वपूर्ण छ । देउडा मनोरञ्जन गर्ने एउटा र राजनीतिक व्यंग्य गर्ने अर्को माध्यम पनि हो ।
गौरा पर्व शहरीया मनोरञ्जनमा सीमित हुन थालेको हो ?
गौरापर्वको आकर्षण घटेको अथवा शहरीया मनोरञ्जनमा सीमित भएको भन्न नमिल्ला । बसाइँसराई गरेर शहर पसेका परिवारहरूमा बिरुडा र गौरा भित्र्याउने कामबाहेक अन्य काममा त पुरुषहरू पनि त त्यत्तिकै सहभागी हुन्थे । गाउँबाट शहर सर्ने धेरै भएका कारण गाउँमा गौरा मनाउने मान्छे घटेपनि गौराप्रतिको आकर्षण घटेको भन्न मिल्दैन । केही हदसम्म आकर्षण घटेको भन्ने पनि सत्य जस्तै देखिन थालेको छ । रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमबासी गौरा पर्वकै लागि घर फर्किने गरेको भएपनि अहिले त्यस्तो देखिँदैन । अनि छोराछोरीलाई सानैमा गुणस्तरीय शिक्षा प्रदान गर्न शहर पठाएका नयाँ पुस्तामा समेत त्यस्तो चिन्ता पाइँदैन । चिन्तित विषय भएपनि गौरा मनाउने विधि विधान कुनै आकर्षण घटेको छैन । म अध्यक्ष रहेको संस्थाले विगत दुई दशकदेखि राजधानी काठमाडौंमा गौरा पर्व मनाइरहँदा सम्पूर्ण विधि र विधानको आधारमा गर्ने गरेका छ ।
संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सबैबाट प्रयास हुनुपर्दछ । कुनै पनि देश वा समुदायको संस्कृतिको जगेर्ना गर्न मनाइने पर्वहरूमा समेत भर पर्ने गर्दछ । यसका लागि संस्कृति र सांस्कृतिक चाडहरूको पुस्तान्तरण आवश्यक छ । हामीले आउने पुस्तालाई पुस्तान्तरण गर्न सकिएन भने कुनै पनि समयमा समस्या आउनेतर्फ हामी सचेत हुनुपर्दछ ।
प्रशंसा संरक्षण समूह सुदूरपश्चिमवासीबाटै स्थापित संस्था हो । यस वर्ष राजधानीमा २७औँ वर्षको गौरा पर्व मनाउँदै आएको छ । संस्थामा हाम्रै सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरू छन् । हाम्रो समूहअन्तर्गत चारवटा समाज रहेका छन् । संस्थाले विशेषगरी राजधानी काठमाडौं हुने गौरा पर्वलाई स्थानीय रीतिरिवाज र परम्पराअनुसार मनाउनका लागि आवश्यक पहल, समन्वय र स्रोत व्यवस्थापनमा समन्वय समेत गरिराखेको छ । यसले गौरा पर्व सहरिया मनोरञ्जनमा सीमित हुनुहुँदैन भन्ने कुरामा बल पुर्याउँछ । गौरा पर्व सांस्कृतिक एकताको पर्व हो । राजनीतिकरूपमा तछाडमछाड गरिरहेकालाई वा दलका नेताहरूले समेत काठमाडौंको टुँडिखेलमा आएर एकताको सन्देश दिने गर्छन् । अरू जे भएपनि सांस्कृतिक एकता आवश्यक छ भन्ने सन्देश दिन्छ । देशलाई जोगाउने नै संस्कृति भएकाले यसको संरक्षण आवश्यक छ ।
पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यस्तो हुन्छ भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण यसको मौलिकता हराउन थालेको छ । मौलिक परम्परा र संस्कृति जगेर्नातर्फ सबै लाग्न जरुरी छ ।
संस्कृति संरक्षण र पूर्वीया संस्कृतिको प्रभाव
संस्कृतिको संरक्षण चिन्तनशील हुन जरुरी छ । हाम्रो संस्कृतिलाई मास्नका लागि समेत समय समयमा विभिन्न आक्रमणहरू भएका छन् । अहिले आफ्नो देशको संस्कृति संरक्षण सबै देशको चिन्ताको विषय हो । अन्य मुलुकको संस्कृति लाद्न खोज्दा देश ठूलो समस्यामा पर्नसक्छ । संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि सबैबाट प्रयास हुनुपर्दछ ।
कुनै पनि देश वा समुदायको संस्कृतिको जगेर्ना गर्न मनाइने पर्वहरूमा समेत भर पर्ने गर्दछ । यसका लागि संस्कृति र सांस्कृतिक चाडहरूको पुस्तान्तरण आवश्यक छ । हामीले आउने पुस्तालाई पुस्तान्तरण गर्न सकिएन भने कुनै पनि समयमा समस्या आउनेतर्फ हामी सचेत हुनुपर्दछ ।
(प्रशंसा संरक्षण समूहका अध्यक्ष अवस्थीसँग गरिएको कुराकानीमा आधारित)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।