प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।
‘वर्तमान सरकारले कुनै पनि अपराधीलाई नसमाउ भन्दैन, निर्दोषलाई फसाउ भन्दैन र दोषीलाई छाड्दैन,’ उनले भने । वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन निर्देशन दिए ।
‘यो सरकार केवल अर्को सरकार होइन, यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा स्थिरताको प्रवृत्ति बोकेको छ’, प्रधानमन्त्री ओलीले भने ।
प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधूप गर्न नपर्ने उल्लेख गर्दै उनले भने, ‘झोला थैला बोकेर कसैकामा कुद्नु पर्दैन, अहिलेको सरकार भात–रोटी खान्छ, घूस खाँदैन, तपाईंहरु कर्तव्यपालनामा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्नूस्, अवाञ्छित र अनुचित प्रभावमा नलाग्नूस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।