logo-img

प्रचण्ड भन्छन्- अब सरकारमा लाग्दैनौँ, पार्टी र विचारको विकास गर्छौँ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् । 

कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो’, उनले भने । 

अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, ‘परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हामी सबै सजग हुनुपर्दछ । आवश्यक परेको खण्डमा पुनः सङ्घर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ ।’

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष दाहालले बताए । उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए । 

‘अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ । त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो’, उनले भने । 



सो बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नीप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणि पोखरेल, हरिबोल गजुरेललगायतले आ–आफ्नो धारणा राखेका थिए । 



  • प्रकाशित मिति : भदौ १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया