logo-img

राष्ट्रपति पौडेल पाल्पामा

राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । 

जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा पुगेका हुन् । तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ । 

विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार भगवतीको रथ निकालिने दिन आज नै अमननारायणको समेत रथ निकालिने भएको छ । यस वर्ष भगवती र अमननारायणको रथ निकाल्न तिथि एकैदिन परेको छ । 

भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रमा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको छ । भगवतीको रथयात्रा निकाल्नुअघि राष्ट्रपति पौडेलले रणउजीरेश्वरी भगवतीको मन्दीरमा पूजाआजा गर्ने कार्यक्रम रहेको प्रजिअ काफ्लेले जानकारी दिए । 

तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राका रुपमा परिचित छ । कर्णेल उजीरसिंह थापाले १८७६ सालमा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राका रुपमा सञ्चालन गरिँदै आएको छ । 





  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया