logo-img

पाल्पाको रथयात्रामा राष्ट्रपति पौडेल र मन्त्रीहरू (तस्बिरहरूसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५औँ रथजात्रा (खटयात्रा)को अवलोकन गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा पुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । 

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलोपटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पुगेका हुन् । 

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् । 

जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेल द फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायत सरोकारवाला निकायसँग भेटघाट गरेका थिए । 

राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीनतले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् । 



त्यस्तै, पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण समेत गराए ।
 
राष्ट्रपति पौडेलले रथयात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरे ।  



 

 

  • प्रकाशित मिति : भदौ ११, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया