logo-img

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । 

समुन्द्री सतहदेखि ४ हजार ६ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । 

पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको ४ लाख ४९ हजार ६ सय ४५ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको रु दुई लाख ६८ हजार आठ सय ८५ र दाताहरुले गरेको १ लाख ३५ हजार विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए ।

‘गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा ३ लाख १७ हजार ९ सय ५५ खर्च भएको थियो’, उनले भने, ‘खर्च कटाएर बेचेको ५ लाख ३४ हजार पाँच सय ७५ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ ।’ 

पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि २ लाख ५० हजार, पाउद्वार माविलाई ७० हजार, पाउद्वार आमा समूहलाई ४५ हजार, भलिबल खेल कोषमा ३० हजार, टोलविकास समितिलाई २९ हजार ५ सय ७५, पुर्ख्यौली नृत्य समूहलाई ३० हजार, खयरभारानी युवा क्बलाई २५ हजार, गिबाङ टोललाई २५ हजार, पाउद्वार ढल निकासका लागि २५ हजार र पाउद्वार स्वास्थ्य इकाइका लागि १० हजार सहयोग गरिएको तिलिजाले जानकारी दिए । 

खयरभारानीमा यही ३ भदौमा लागेको जनैपूर्णिमा मेलामा २ सय ३८ वटा भेडाको पाठा को बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढ बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । 



प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चौंरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । रासस  



  • प्रकाशित मिति : भदौ १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया