logo-img

लक्ष्यअनुसार राजश्व उठाउँछौँ, द्वन्द्वमा बन्द भएका भन्सार सञ्चालन गर्छौँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार बिहान अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृह मन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।

‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृह मन्त्रालयबाट अर्थ मन्त्रालयले राखेको अपेक्षा अनुसार गृह मन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरूसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्येक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सारहरू सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘भन्सार एकदम कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्‍यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्‍यो । सशस्त्र द्वन्द्वको बेलामा हामीले साना भन्सारहरू ठूला भन्सारमा मिलायौँ । तीनलाई यथास्थानमा स्थापित गरिदिऔँ,’ उनले भने ।

जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए । ‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भइहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौँ । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने। 

गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकर्षण गराए ।

‘गृह मन्त्रालयमा आएपछि प्रहरी देखेर दया लागेको छ । शान्ति सुरक्षा, भीड नियन्त्रण, अपराधको अनुसन्धान, मुद्दा चलाउने, मान्छे थुन्ने, छाड्ने, राजस्व चुहावट नियन्त्रण गर्ने काम प्रहरीको हुन्छ । लोड धेरै छ । अत्यन्त सीमित स्रोत साधनमा काम गरिराख्नु भएको छ । मैले माननीय अर्थमन्त्रीजीको यसमा ध्यानाकर्षण गराएँ ,’ उनले भने ।





  • प्रकाशित मिति : भदौ १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया