काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-७ महांकालका बालबालिकामा केही महिनादेखि देखिएको कालाजारको संक्रमण नियन्त्रणमा आएको छ ।
करिब चार महिनादेखि आठ बालबालिकामा देखिएको कालाजार विशेष निगरानी र ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी कार्यक्रम सञ्चालन गरी नियन्त्रणमा ल्याइएको जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । हालै मात्र एक पाँच वर्षमुनिका बालकमा कालाजारको संक्रमण देखिएको थियो ।
कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले खानीखोलामा फैलिएको कालाजार पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइन् । उनका अनुसार ‘कन्ट्रयाक ट्रेसिङ’ तथा विषादी छिट्काउ कार्यक्रम सञ्चालन गरी कालाजार संक्रमण नियन्त्रणमा ल्याइएको हो ।
‘भुसुनाका माध्यमबाट सर्ने यो रोग नियन्त्रणका लागि समय-समयमा भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरिएको छ । केही महिनाअघि बनेपा नगरको एक बालकमा पनि कालाजार देखिएको थियो । कार्यालयले त्यसबेला उक्त क्षेत्रमा पनि भुसुना लाग्ने स्थानको पहिचान, खोज र नष्ट अभियान नै सञ्चालन गरी नियन्त्रणमा ल्याइएको हो’, कार्यालय प्रमुख श्रेष्ठले भनिन् ।
कालाजार लाग्न नदिन भुसुनाको टोकाइबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ । यसको संक्रमण भएमा लगातार ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमण देखापर्ने, वजन घट्ने, खानामा रूची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने गर्छ ।
यसैबीच काभ्रेपलाञ्चोकमा डेढ महिनाको अवधिमा ५१ जनामा डेंगु संक्रमण भएको छ । २३ पुरुष र २८ महिलामा डेंगु संक्रमण देखिएको हो । संक्रमितको उपचारका लागि कार्यालयमार्फत स्थानीयस्तरमा समन्वय गरी विभिन्न सचेतना मूलक कार्यक्रम गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा चार सय ८७ जनामा डेंगु संक्रमण भएको थियो ।
काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । डेंगुको उच्च जोखिम रहेका नेपालका १० जिल्ला मध्येमा काभ्रेपलाञ्चोक पनि एक हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।