नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू गरी ६३ जनाले पार्टी निर्माणका लागि सुझाव दिएका छन् ।
सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डासहित सुदृढ जनसंगठन निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिँदै प्रदेशका नेताहरूले आगामी केन्द्रीय समिति बैठकबाट ठोस कार्य योजना ल्याउन नेतृत्वलाई आग्रह गरे ।
बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरूले पनि सम्बोधन गरे । केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक सुरु गरिएको जनाएको छ ।
जसअनुसार सुदूरपश्चिमसहित बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश र गण्डकी प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ । भोलिबाट कर्णालीको प्रदेशस्तरीय परामर्श बैठक सुर्खेतमा तय गरिएको छ ।
प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव लिएका थिए । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्य क्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।