भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र यतिबेला अस्तव्यस्त छ । करोडौँका अत्याधुनिक उपकरण थन्क्याइएको छ भने कार्यकारी निर्देशकको एकाधिकारपूर्ण निर्णयले विशेषज्ञ डाक्टरहरू कामविहीन भएका छन् । ६० वर्ष उमेरहद नाघिसक्दा पनि मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश संशोधन गरी राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नियुक्तिको विषय पनि बेलाबेला विवादमा आइरहन्छ ।
सत्ता र शक्तिको दुरुपयोग गरी गठन आदेश संशोधन गराई आफैँ कार्यकारी निर्देशक बनेका डा. श्रेष्ठकै हठ र एकाधिकारका कारण अस्पतालको सेवा सुविधा खुम्च्याइएको भन्दै कर्मचारी र स्थानीयवासी निरन्तर आन्दोलित छन् । स्थापनाकालदेखि ‘मानव अंग प्रत्यारोपण केन्द्र’का रूपमा चिनिएको केन्द्रमा भइरहेको बेथितिविरुद्ध स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएपछि आन्तरिक विवादका शृखंलाहरू बाहिर आउन थालेका हुन् ।
विश्व अंगदान दिवसका अवसरमा गत २९ साउनमा अस्पताल परिसरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेपछि डा. श्रेष्ठ कार्यशैली र अस्पतालको प्रशासकीय व्यवस्थापनमाथि थप प्रश्न उठेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा स्थानीयले कालो ब्यानर र प्ले कार्डसहित कार्यक्रम चलिरहेको हलमै प्रदर्शन गरेपछि विवाद थप चर्किएको थियो । यसरी आन्तरिक किचलो छताछुल्ल भएपछि सबैको ध्यान सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रतिर तानिएको छ ।
नेपालमा प्रत्यारोपण सेवालाई स्थापित गराएर प्रशंसा कमाएका डा. श्रेष्ठको कार्यशैली र विवादास्पद निर्णयविरुद्ध स्थानीयवासी विगत एक वर्षदेखि संघर्षरत छन् । यसअघि पनि अस्पताल व्यवस्थापनविरुद्ध कर्मचारी र स्थानीयले पटक–पटक आन्दोलन गरेका थिए । उक्त केन्द्रको पहिलो कार्यकारी निर्देशक भएर प्रत्यारोपण सेवा विस्तार गर्न प्रभावकारी भूमिका निर्वाह गरेर स्थानीय र बिरामीको मन जितेका उनी पछिल्लो समय आफ्नै कार्यशैली र हठका कारण स्थानीयको आँखाको तारो बनेका छन् ।
अस्पतालमा बेथिति र अनियमितता बढेको भन्दै स्थानीयले ‘सेवा रोकेर धेरै मरिसके, अझै कतिजना अरू ?’, ‘म मुटुरोग पीडित, मेरो उपचार भएन’, ‘भ्रष्टाचारमुक्त अस्पताल बनाऊ’, ‘म कलेजोरोग पीडित, मेरो उपचार भएन’लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेपछि मन्त्री पौडेलले घटना नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।
डा. श्रेष्ठको मनोमानीविरुद्ध आन्दोलन
अस्पतालमा कर्मचारी नियुक्ति, चिकित्सकीय जिम्मेवारी, बढुवा, प्रत्यारोपण सर्जनलाई दिइने जिम्मेवारीमा आफूखुसी गरेको साथै अस्पताल विकास समितिको उद्देश्य र लक्ष्यविपरीत काम गरेको भन्दै स्थानीयवासी एवं कर्मचारी आन्दोलित छन् ।
स्थानीयवासीका अनुसार भएका उपकरण प्रयोग गर्न सक्ने दक्ष सर्जन वा चिकित्सकलाई हटाउने, महँगो उपकरण थन्क्याउने र बिरामीलाई उपचारबाट वञ्चित गर्ने गरिएको छ । तीनथरीका मानव अंग प्रत्यारोपण सेवा उपलब्ध छ भनेर प्रचार गर्ने, तर स्थान, दक्ष जनशक्ति र स्रोत साधनको अभाव रहेको भन्दै बिरामीलाई फर्काउने गरिएको स्थानीयको दाबी छ । जसका कारण लामो समयदेखि कलेजो, फोक्सो, मुटुका बिरामी अस्पतालमा आउँदा पनि उपचारबाट वञ्चित हुनुपरेको भन्दै स्थानीयले पटक–पटक मन्त्रालयसम्मै पुगेर गुनासो गर्दा पनि सुनुवाइ नभएको स्थानीय नागरिक समाजका अगुवा राजेन्द्र पुरीले बताए ।
यसअघि तीनजना स्वास्थ्यमन्त्रीलाई भेटेर समस्या सुनाइसकेको भए पनि सुनुवाइ नभएको उनले दुखेसो गरे । ‘हामीले समस्या सुनाएको प्रदीप पौडेल चौथो मन्त्री हुनुहुन्छ । उहाँसँग ठूलो आशा छ । अस्पतालमा नेपाल सरकारले दिएको सुविधा डा. श्रेष्ठकै कारण बन्द भएको जानकारी गराइसकेका छौँ । अस्पतालमा उपकरण पनि छ, मुटु, कलेजो र फोक्सोको शीर्षकमा बेग्ला–बेग्लै बजेट आउँछ । तर, काम नभएपछि बजेट कहाँ गइरहेको छ ?’ उनको प्रश्न छ ।
अख्तियारमा पुग्यो मुद्दा
प्रत्यारोपण केन्द्रमा कार्यरत केही चिकित्सकले अन्य अस्पतालमा गएर पार्ट टाइम काम गर्ने गरेको, करोडौँको उपकरण थन्क्याएर राज्यको सम्पत्ति उपयोगविहीन बनाइएको साथै गैरकानुनी रूपमा अंग प्रत्यारोपण गरेकोलगायत विषयलाई लिएर अस्पतालभित्रकै कर्मचारी, बिरामी र स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गएका छन् ।
२०८१ साउन २७ गते सि ००८५६९ र २०८० चैत्र १२ गते सि ६५२३४३ मा अख्तियारमा मुद्दा दर्ता गराइएको छ । त्यसबाहेक आधादर्जन मुद्दा अख्तियारमा दर्ता छन् । २७ साउनमा दर्ता भएको मुद्दामा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले नै तीनजना कलेजोका बिरामीको कानुनविपरीत प्रत्यारोपण गरेको भन्दै मुद्दा परेको छ ।
नेपाल सरकार (खण्ड ६६) अतिरिक्तांक १४ (क) नेपाल राजपत्रभाग ३ मिति २०७३/०८/१६ मा प्रकाशित कलेजो प्रत्यारोपणका लागि डकम्पेन सैटेड सिरोसिस भएका बिरामीकाे कलेजो प्रत्यारोपणका लागि चाहिने मापदण्ड श्रेणी मिडल फर इन्ड स्टेज लिभर डिजिज तालिका ए प्राप्तांक १५ भन्दामाथि हुनुपर्ने व्यवस्था स्पष्ट हुँदाहुँदै डा. पुकारले १५ भन्दा कम अंक भएको एमइएलडी १० का एकजना, एमइएलडी १२ का दुईजना बिरामीको कानुनमा व्यवस्था भएको एमइएलडी तालिकाविपरीत प्रत्यारोपण गरेको भन्दै डा. पुकारमाथि गम्भीर छानबिन हुनुपर्ने माग राखिएको छ ।
यसअघि पनि उनीमाथि नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोप लागेको थियो भने उमेर हद नाघेर र विभिन्न काण्डमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो ।
उत्कृष्ट सेवा दिएको निर्देशककाे दाबी
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कार्यकारी निर्देशक डा. श्रेष्ठले भने आन्दोलनकारीलाई ‘अराजक समूह’को संज्ञा दिएका छन् । उनले आन्दोलनकारीले उठाएका मुद्दाबारे भने चुइँक्क बोलेनन् । तर, डा. श्रेष्ठले केन्द्र स्थापनाको १२ वर्षमा आइपुग्दा संसारको उत्कृष्ट अस्पतालको जस्तै नतिजा दिन सफल भएको दाबी गरे ।
आफ्नो एक इन्च पनि भवन र उपयुक्त जग्गा जमिन नभए पनि केन्द्रले वर्तमान अवस्थामा पनि देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गरिसकेको डा. श्रेष्ठले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक सय ९६ जनाको मिर्गौला र १५ जनाको कलेजो गरी जम्मा ११ जनाको प्रत्यारोपण शतप्रतिशत सफलताका साथ सम्पन्न गरेको गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।