राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज काठमाडौंमा बस्दैछ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
‘बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारणा राख्ने छन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । ३४ वर्षको इतिहासमा यो बैठक पहिलोपटक गर्न लागिएको हो,’ उनले भने ।
सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले बताए ।
संक्षिप्त उद्घाटन सत्रपछि बैठकमा सल्लाहकार समितिका अध्यक्ष थापाले कार्यपत्र पेश गर्ने कार्यक्रम तय भएको छ । प्रस्तुत कार्यपत्रमाथि बैठकमा सहभागी सल्लाहकार समितिका सदस्यहरूले छलफलमा भाग लिने छन् । बैठकमा अन्य विविध विषयमा पनि विमर्श हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।