जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि उठेका प्रश्नहरूमा आत्तिहाल्नुपर्ने जरुरी नभएको बताएका छन् ।
शुक्रबार कर्मचारी एकता मंच, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कुनै पनि विमान दुर्घटनामा पर्दा प्राविधिक कारणले भन्दा पनि नागरिकहरूले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्नु आफैँमा लज्जास्पद भएको बताएका हुन् ।
उनले भने, ‘पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि गम्भीर प्रश्नहरू उठेका छन् । तर यसो भन्दैमा आत्तिइहाल्नुपर्ने जरुरी छैन । कुनै पनि विमान दुर्घटनामा पर्दा कुनै अन्य प्राविधिक कारणले भन्दा पनि नागरिकहरूले सामाजिक सञ्जालमा विज्ञता देखाएर विश्लेषण गर्ने गर्दछन् । यसले देशको छविमा कस्तो प्रभाव पार्न सक्छ भनेर जिम्मेवार नागरिकको हैसियतले लाग्नुपर्दछ ।’
साथै उनले नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापूर्ण हुनुपर्ने बताए । उनले विविधतापूर्ण भयो भने हाम्रो समाजको लागि सकारात्मक सन्देश दिन सजिलो हुने जिकिर गरे ।
उनले भने, ‘नेपाल हरेक दृष्टिकोणको हिसाबले विविधतापूर्ण देश भएको हुनाले संसदमा होस् वा अन्य कुनै ठाउँमा विविधतापूर्ण भयो भने त्यो समाजको लागि सकारात्मक हुन्छ । यदि एउटा अथवा दुई वटा मात्र सङ्गठनहरू भयो भने त्यसले आवाज पनि उठाउन सक्दैन । कुनै कुनै देशमा रुलिङ पार्टीको मात्र सङ्गठन हुन्छ । त्यसले त सरकारको विरोध नै गर्न सक्दैन । सरकारले जे जे भन्यो त्यहीँ गर्नुपर्ने हुन्छ । त्यसैले बढी सङ्गठनहरू भए भन्दैमा नकारात्मक रूपमा लिनुहुँदैन । त्यसले विभिन्न पक्षबाट समस्याहरू समाधान गर्न ठुलो सहयोग गर्ने गर्दछ । त्यसै गरी धेरै सङ्गठनहरू भयो भन्दैमा हामीले एक अर्काको विरोध गर्नुपर्छ भन्ने पनि छैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।