logo-img

आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराएका हुन्। 

उनले भने, ‘पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफैँ राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’ 

उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट पारे। उनले आफूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे । उनले भने, ‘अब तपाईँहरू संसारका जुनसुकै कुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुहुन्छ । तपाईँहरूका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुपयोग गर्नुस्, सेवा भावको सुयोग्य नागरिक बन्नुस्।’

समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे । 





  • प्रकाशित मिति : भदौ १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया