logo-img

चाडपर्वकाे मुखमा भयावह बन्दै सवारी दुर्घटना : नियन्त्रणका लागि के छ सरकारको योजना ? (भिडियाेसहित)

पछिल्लो समय एकपछि अर्काे गर्दै भइरहेका दुर्घटनालाई हेर्दा लाग्छ, नेपालमा ‘दुर्घटनाको सिजन’ चलिरहेको छ । पछिल्लो हप्ता नेपालमा एकपछि अर्काे गर्दै सडक र हवाई दुर्घटना भइरहेका छन् ।

चितवनको सिमलताल र तनहुँको मर्स्याङ्दीमा भएका दुईवटा दुर्घटना पछिल्लो समय भएका सबैभन्दा ठूला सडक दुर्घटना हुन् । असार २८ मा सिमलतालबाट त्रिशूलीमा बेपत्ता दुईवटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन । यी गाडीमा सवार २५ जनाको मात्रै शव फेला परेको छ भने ती बसमा सवार अन्य ४० जना अझै बेपत्ता छन् । 

यस्तै, ७ भदौमा तनहुँको आबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी नदीमा भारतीय तीर्थयात्री सवार बस दुर्घटनामा पर्यो । उक्त दुर्घटनामा २७ जनाले ज्यान गुमाए भने घाइते १६ जनाको उपचार हुँदै छ । यीबाहेक पनि दैनिक कैयौँ सानातिना सडक दुर्घटना हुँदै आएका छन् । 

पछिल्लो समय सडक सुरक्षा चुनौती बनिरहेको छ । हरेक दिनजसो दुर्घटना भइरहेका छन् । सडक दुर्घटनाका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ । दुर्घटनापछि समिति गठन गरिन्छ, छानबिनका नाममा दुई–चारजना भेला भएर रिपोर्ट पनि तयार पारिन्छ । तर, सरकारले उक्त रिपोर्ट दराजमा थन्क्याउँछ । केही समयपछि उक्त घटना बिस्तारै सेलाउँदै जान्छ र अर्को ठूलो दुर्घटनापछि फेरि त्यही क्रम दोहरिन्छ ।

जेठ ३१ देखि यस वर्षको मनसुन सुरु भएसँगै दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । वर्षायाममा दुर्घटना वृद्धि हुनसक्ने पूर्वआकलन भए पनि न्यूनीकरणका उपाय अवलम्बन नगर्दा दुर्घटना अत्यधिक बढेको जानकारहरू बताउँछन् । अझ सडक दुर्घटना बढ्ने दिन आउँदै छ । अर्थात् दसैँ–तिहारलगायत चाडवर्पको समयमा सडक दुर्घटना बढी हुन्छ । यो समयमा धेरै दुर्घटना हुनुको प्रमुख कारण हो– सडकको पूर्वअवस्था र गाडीको अत्यधिक चाप । 

अब दसैँ आउन करिब एक महिना मात्रै बाँकी छ । सडकको अवस्थाले गर्दा सधैँको वर्षझैँ यस वर्ष पनि ‘दसैँ यात्रा’ सजिलो र सुरक्षित नहुने हो कि भन्ने डर आमयात्रुमा बढ्न थालेको छ । कतिपय स्थानमा सडकमा पहिरो खसेका छन् भने कतिपय मर्मत नगरी सवारी चलाउनै नसकिने अवस्था छ भने कतिपय सडक सञ्चालनमा रहे पनि खाल्डाखुल्डीले गर्दा समस्या छ ।



यस वर्ष दसैँको समयमा करिब २५–३० लाखले काठमाडौं उपत्यका छोड्ने प्रहरीको अनुमान छ । यस्तै, उपत्यकाबाहेक देशका विभिन्न सहरमा बसेकाहरू गाउँघर फर्किने भएकाले एक गन्तव्यबाट अर्को गन्तव्यमा पुग्छन् । सामान्यभन्दा धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने बेला आइसक्दा पनि अधिकांश सडकको अवस्था बेहाल छ । त्यसैले पनि दसैैँमा सवारीसाधनको चाप बढ्ने भएकाले आवागमनलाई सुचारु राख्न र सवारी तथा यात्रुको सुरक्षाका लागि पनि दसैैँअघि सबै सडक मर्मतसम्भार गर्न आवश्यक छ । 

सवारीमैत्री सडक नहुँदा सकस



अहिले काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, बालाजु, सितापाइलालगायतका नाका जोड्ने सडकको अवस्था दयनीय छ । उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्था सुधार गर्न सरकारले पर्याप्त ध्यान नदिँदा यात्रुले दुःख पाउने गरेका छन् ।

कतिपय सडक त काम हुनै नसकेर रुग्ण बनेका छन् भने त्यसमाथि वर्षाका कारण ती सडकमा खाल्डाखुल्डी थपिएका छन् । हरेक वर्षजस्तै यस वर्षको दसैँ यात्रा पनि कठिन हुने निश्चित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । 

देशभरको सडकको अवस्था अस्तव्यस्त छ । उनका अनुसार नारायणगढ–बुटवल, मुग्लिन–पोखरा, बिपी राजमार्गअन्तर्गत भकुण्डेबेसीदेखि बर्दिबास, अरनिको सडक, पूर्वाञ्चलमा ढल्केबर, कोशी ब्यारेजलगायत सडकखण्ड एकदमै नाजुक अवस्थामा छ । यस वर्ष अझ धेरै पानी परेको हुनाले सडकको अवस्था दयनीय रहेको छ । जसले यात्रु र व्यवसायीलाई सबैभन्दा धेरै सास्ती दिने उनी बताउँछन् ।

‘यी त ठूला–ठूला सडक खण्ड भए । देशभर नै ग्रामीण सडकखण्ड पनि वर्षा–बाढीले बिग्रेका छन्,’ सिटौला भन्छन्, ‘यात्रु राजमार्गमा मात्र यात्रा गर्ने होइन, गाउँ पनि जानै पर्यो । तर, यात्रुलाई कसरी घर पुग्ने भन्ने चिन्ताले सताएको छ भने व्यवसायीलाई कसरी यात्रुलाई सुरक्षित स्थानमा पुर्याउने भन्ने चिन्ता छ ।’

पछिल्लो समय कानुनी व्यवस्थाले प्रदेश, संघ र स्थानीय तहलाई समेत सडक बनाउने अधिकार सुम्पिएको छ । तर, तीनै तहका सरकार यात्रुलाई सुरक्षित यात्रा गराउन असफल भएका छन् । व्यवसायीलाई गुनासो गर्न पनि कठिन भएको उनी बताउँछन् । संघ, प्रदेश र स्थानीय तहले पनि सडक निर्माणको जिम्मेवारी पाएका छन्,’ उनी गुनासो गर्छन्, ‘हामी कहाँ–कहाँ गएर गुनासो गर्ने ? कुन–कुन कार्यालयको ढोका ढकढक्याउनु ? हामीले दसैँमा मात्र होइन पटक–पटक आवाज उठाइरहेका छौँ । तर, राज्यले हाम्रो कुरा सुन्दैन ।’

सडक राम्रो नबन्दा प्रत्येक वर्ष कैयौँ मानिसले अकालमा ज्यान गुमाएका छन् भने दसैँको समयमा बढी दुर्घटना हुने गर्छ । उनका अनुसार दुर्घटना बढ्नुको एउटा मुख्य कारण सडक व्यवस्थित नहुनु पनि हो । ‘सडकबिना सवारी टाउकोमा राखेर हिँड्न मिलेन । हेलिकोप्टर होइन, प्लेन होइन । सडकमै गुड्ने हो,’ उनी आक्रोश पोख्छन्, ‘त्यसकारण बिग्रेको भत्केको सडक सरकारले मर्मतसम्भार गर्नुपर्यो । दसैँको बेलामा पहिरो जान सक्छ । त्यसको व्यवस्थापनका लागि सबै तैनाथ अवस्थामा राख्नुपर्यो । सरकारले सहज यात्राका लागि व्यवस्थापन गर्नुपर्यो ।’

तर, सडक मर्मतमा सरकारले ध्यान नदिँदा सवारी चालकहरू जोखिम लिएर सवारी चलाउन बाध्य रहेको उनी बताउँछन् । ‘सवारी दुर्घटना हुनुको एउटा मुख्य कारण भनेको सडकको दुरावस्था हो । कति स्थानमा चालकहरूले आफ्नो ज्यान फालेर पनि चालकहरूले यात्रुलाई बचाइरहेका छन्,’ उनी भन्छन्, ‘यहाँ चालकलाई मात्र दोष लगाएर अन्य सम्बन्धित क्षेत्र पन्छिन मिल्दैन ।’ 

त्यसैले उनले सडक पूर्वाधार सुधारमा जोड दिन सरकारलाई आग्रह गरे । दसैँअघि मात्र होइन, सरकारले बाह्रै महिना सडकलाई सुधार गर्नुपर्ने उनको तर्क छ । ‘हामीले सडक राम्रो बनाउनुपर्यो भनेर निरन्तर आवाज उठाइरहेका हुन्छौं । तर, जब पर्यो राति, तब बुढी ताती भनेजस्तो देश बन्यो । जब दसैँ वा समस्या आउँछ, तब मात्र सरकारी निकाय तात्छ । चाडबाड सकिएको पर्सिपल्टदेखि सरकारी निकाय निदाउँछ,’ उनी भन्छन्, ‘प्लेन भन्दा विश्वासिलो यातायात बनेको छ । त्यो यातायातलाई राज्यले बेवास्ता गरिरहेको छ ।’

त्यसैले तत्काल सडक पिच गर्ने अवस्था रहे पिच गर्ने होइन भने मर्मत–सम्भार मात्रै गरेर भए पनि निर्बाध रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन उनले सरकारसँग माग पनि गरे । ‘सडक मर्मत–सम्भार नभए गाडी गुडाउने अवस्था रहँदैन,’ उनले फरकधारसँग भने, ‘यात्रुहरू बीचमा अलपत्र पर्ने, दुर्घटनाको उच्च जोखिम हुन्छ । दसैँको समयमा यात्रुहरू समयमै गाउँसम्म पुग्न समस्या हुन्छ र यातायात व्यवसायीलाई पनि समस्या पर्छ । यस्तो हुँदा गाडी गन्तव्यस्थलसम्म जाने अवस्था हुँदैन ।’

दसैँलाई लक्षित गर्दै यातायात व्यवसायीले नयाँ गाडीहरू पनि सञ्चालनमा ल्याउने गर्छन् । तर, सुविधासम्पन्न गाडी गुड्ने सडकको अवस्था भद्रगोल छ । साँघुरा सडक, खाल्डाखुल्डी, बाढी–पहिरोका कारण सडक गाडी गुडाउन लायक छैनन् । जसले गर्दा व्यवसायी मारमा परेको उनको तर्क छ । ‘सरकारी निकायको नीतिगत व्यवस्था, विधि, पद्धति असाध्यै घिनलाग्दो छ,’ उनी भन्छन्, ‘सरकारलाई भन्यो भने पानीले बिगार्यो भन्ने जवाफ दिन्छन् । पानीले नबगाउने तरिकाले पहिल्यै काम गर्नुपर्यो नि ! आज पिच गरेको सडक अर्को वर्ष फेरि पिच गर्नुपर्ने अवस्थाको हुन्छ । एकपटक पिच गरेपछि कम्तीमा ८–१० वर्ष त टिकोस् न । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्छ ।’ 

यात्रुले अत्यधिक रूपमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्न रुचाए पनि सडकका कारण धेरै समस्या परेको उनको भनाइ छ । ‘सडकको अवस्था एकदमै दयनीय छ । यस्तो अवस्थामा सडक मर्मत–सम्भारको काम तीव्र गतिमा होस् । अवरुद्ध भएका सडकमा गाडी गुडाउँदा गाडी बिग्रने, यात्रुलाई गन्तव्यस्थलसम्म कसरी पुर्याउने भन्ने चिन्ता छ । 

करोडौँको लागतमा किनेका गाडी गुड्ने सडकको अवस्था हेर्दा व्यवसायीको लागत डुब्ने सम्भावना पनि उत्तिकै छ,’ उनी चिन्ता व्यक्त गर्छन् । सडक राम्रो नबन्दा टायर पड्किने, स्प्रिङ भाँचिने, सवारीको आयु नै घट्नेलगायत समस्याले व्यवसायीले ठूलो क्षति बेहोर्नुपरिरहेको उनको भनाइ छ । 

के गर्दै छ सरकार ? 

सरकारले वर्षातका कारण क्षति पुगेको सडक दसैँअगाडि मर्मत गर्ने योजना बनाएको छ । निर्माणाधीनबाहेकका प्रमुख राजमार्गमा प्रथम चरणको पटके मर्मत कार्यमार्फत ६ हजार किमि सडक खाल्डाखुल्डीरहित बनाउने सडक विभागले जनाएको छ । सबै सडक डिभिजन कार्यालयबाट यसका लागि बोलपत्र आह्वान भइसकेको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा बताउँछन् । 

‘देशभरका सडक डिभिजन कार्यालयबाट ६ हजार किमि सडक खाल्डाखुल्डीरहित बनाउन ठेक्का निस्किएको छ,’ उनी भन्छन्, ‘साउनअघि नै बोलपत्र आह्वान भएको हो । यो भनेको दसैँअघि नै काम सक्ने भन्ने हो । कतिपयले यसअघि नै काम सुरु गरिसकेका छन् भने कतिले केही दिनभित्रै काम सुरु गर्दै छन् ।’

वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरूमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा बाहेक बढीमा २ घण्टाभित्र अवरोध हटाई सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि उनको भनाइ छ । जसका लागि १३५ वटा उपकरणहरू विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएको र १२९ वटा यान्त्रिक उपकरणहरू तत्काल परिचालन हुने गरी स्ट्यान्डबाई राखिएको छ । ‘चाडपर्वको समयमा सुरक्षित यात्राका लागि सबै सडक मर्मत गर्ने तयारीमा छौँ,’ उनी भन्छन्, ‘दसैँका लागि घर फर्किने यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम समयमै हुन्छ । यसपटकको दसैँमा सबै यात्रुले सहज यात्रा गर्न पाउनुहुन्छ ।’

हुन त यसअघि पनि रणनीतिक सडकहरूमा नियमित, पटके र आवधिक मर्मत तथा पुनःस्थापनासम्बन्धी कार्य योजनाबद्ध रूपमा भइ नै रहेको सडक विभागका सूचना अधिकारी शर्मा बताउँछन् । ‘सडक विभागको क्षेत्राधिकारभित्र पर्ने राजमार्गहरू विभिन्न चरणमा मर्मतसम्भारको काम निरन्तर चलि नै रहन्छ,’ सूचना अधिकारी शर्मा भन्छन्, ‘तर, केही सडक निर्माणाधीन अवस्थामा छन् । यिनीहरूको ठेक्कामार्फत काम भइरहेको छ । बाँकी सडक पनि नियमित, पटके र आवधिक मर्मत तथा पुनःस्थापनासम्बन्धी कार्य भइरहेकै छ ।’ सडक निर्माणको काम निरन्तर भए पनि चाडपर्वको समयमा सडकमा गुड्ने सवारीसाधनको चाप बढ्ने हुनाले दसैँअघि थप सडक मर्मत गरिने उनको भनाइ छ । 

‘दसैँमा मात्रै सडक मर्मत गरिने भन्ने हाम्रो योजना होइन,’ उनी स्पष्ट पार्छन्, ‘मनसुन सकिने समय र दसैँ आउने समय लगभग एकै समय हुन्छ । मनसुनका कारण सडक खाल्डाखुल्डी पर्ने, पहिरो खसेर धेरै बिग्रिन्छ । मनसुन सकिएपछि सडक मर्मत गर्नुपर्छ । मनसुन सकिएको र आर्थिक वर्षलगत्तै ठेक्का निकाल्नुपर्ने हुनाले पनि यो समयमा सडक मर्मत गर्छाैं । साथै चाडपर्वमा सवारीसाधनको चाप बढ्ने हुनाले यात्रुलाई सहज होस् भनेर पनि निर्माण व्यवसायीलाई सडक मर्मतको काम चाँडो सक्न निर्देशन दिने गरेका छौँ ।’

जसका लागि ६ अर्ब बराबरको बजेट विनियोजन गरिएको छ । देशभर करिब एक लाख किलोमिटरभन्दा बढी सडक भए पनि सडक विभागको क्षेत्राधिकारभित्र १५ हजार किलोमिटर पर्छ ।

भयावह बन्दै सवारी दुर्घटना

भदौ १ गते यता मात्रै मुलुकका विभिन्न भागमा पाँच सय भन्दा बढी सवारीसाधन दुर्घटनामा परेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार भदौ १ देखि १० गतेसम्म भएका सवारीसाधन दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ भने नौ सय ८३ जना घाइते भएका छन् । यसै अवधिमा देशभरि साना–ठूला गरी पाँच सय २१ वटा सडक दुर्घटना भएका छन् । 

यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा ३५ हजार ४ सय ४ सवारीसाधन दुर्घटना हुँदा २ हजार ३ सय ६९ जनाले ज्यान गुमाएका छन् । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३७ हजार ३ सय ९२ सवारीसाधन दुर्घटना हुँदा २ हजार ३ सय ६८ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ३९ हजार ३ सय ७९ सवारीसाधन दुर्घटना हुँदा २ हजार ८ सय ८३ जनाले अकालमा ज्यान गुमाएका थिए । 

पछिल्लो हप्ता सडक दुर्घटना ह्वात्तै बढेपछि गृहमन्त्री रमेश लेखकले बुधबार सरोकारवाला सबै निकायका प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । आउँदै गरेको दसैँलाई दुर्घटनारहित बनाउन उनले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । उनले सवारीसाधन दुर्घटनामा एक दिनमा औसत सातजनाको मृत्यु हुनु गम्भीर चिन्ताको विषय भएकाले कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेतर्फ सबै पक्ष चनाखो भएर लाग्नुपर्ने बताएका छन् ।  

यो पनि

प्रमुख राजमार्गकाे हरिबिजाेग : दसैँको मुखमा हतारमा मर्मत, यात्रुलाई सकस

  • प्रकाशित मिति : भदौ १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया