आज कुरा पञ्चायतकालका एक अधिराजकुमारको । आज कुरा राजा त्रिभुवनका छोरा र राजा महेन्द्रका कान्छा भाइको । आज कुरा ती अधिराजकुमारको जसको नाम नेपालका प्राचीन मूर्तिको तस्करीसँग जोडिँदै आयो ।
ती दिन, ती पात्रमा आज स्वर्गीय वसुन्धरा शाह । राजपरिवारका सदस्य रहेका उनलाई राजतन्त्रकालसम्म श्री ५ अधिराजकुमार वसुन्धरावीरविक्रम शाहको नामले पुकारियो । निकै आकर्षक जिउडाल र राजपरिवारभित्र तुलनात्मक रूपमा उदार, मिलनसार र प्रजातान्त्रिक छवि बनाएका वसुन्धरा शाह नेपालमा मात्र होइन, अमेरिका र बेलायतमा पनि उत्तिकै लोकप्रिय थिए ।
हेलन शाहका पति वसुन्धराले अन्य प्रेम सम्बन्धका कारण पनि चर्चा पाइरहन्थे । उनले रमोलादेवी अर्थात् छिन्नलतासँग दोस्रो बिहे गरे । उनको प्रेम सम्बन्धको डोरी अमेरिकीदेखि बेलायती युवतीहरूसँग पनि जोडियो । आफ्नो रसिक स्वभावका कारण वसुन्धरा जीवनभर चर्चामा रहे ।
‘ब्ल्यु ब्लड’ पनि भनिने शाही परिवारका सदस्य वसुन्धराकै जस्तो स्वभाव उनका कान्छा भतिजा धीरेन्द्रको पनि थियो । यी काका-भतिजको धेरै स्वभाव मिल्दोजुल्दो नै थियो । धीरेन्द्र सुन तस्करीमा सक्रिय थिए भने वसुन्धराको आँखा नेपालका प्राचीन मूर्तिमा थियो । यही कारण हुन सक्छ, तत्कालीन महेन्द्रका भाइ अर्थात् वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रका काका वसुन्धराको छवि ‘मूर्ति तस्कर’को रूपमा बन्न पुग्यो ।
वसुन्धराको निधन मात्र ५६ वर्षको उमेरमा वीर अस्पतालमा भएको थियो । त्यो आजकै दिन थियो । अर्थात् २०३४ भदौ १५ । उनको निधन भएको पनि ४७ वर्ष बितिसकेको छ । पत्रकार चन्द्रलाल झाले नेपाल टाइम्समा शाहको निधनलगत्तै नम्र भाषामा, तर कठोर सम्पादकीय लेखे । त्यो सम्पादकीय उनै अधिराजकुमार वसुन्धराको श्रद्घान्जलीका लागि लेखिएको थियो ।
नेपाल टाइम्सको सम्पादकीयमा लेखिएको थियो-‘श्री ५ अधिराजकुमार वसुन्धरा सरकारको असामयिक निधनबाट तमाम नेपाली जनता मर्माहत भएका छन् । उनीहरू यस समय मौसुफ सरकारको राष्ट्रभक्ति तथा राष्ट्रिय सम्पदाप्रतिको मोह सम्झेर दुखित छन् । मौसुफ सरकार आफू विदेश सवारी भएको समयमा समेत राष्ट्रिय धरोधरप्रतिको मोहबाट मुक्त हुन नसकी आफ्नै साथमा धरोहर र सम्पदा लिएर गइबक्सन्थ्यो ।’
वसुन्धराले नेपालका प्राचीन मूर्ति बेच्ने धन्दा गर्थे भन्ने आम मान्यता थियो, त्यसबेला । तर, कोही पनि बोल्न सक्दैनथे । जनताको त्यही मौनतालाई झाले आफ्नो सम्पादकीयमार्फत वाणी दिएका थिए । वीरेन्द्रका भाइ धीरेन्द्रदेखि काका वसुन्धराको ऐस, आराम र अय्यासका लागि पैसा जोहो गर्ने बलियो आधार नै सुनदेखि मूर्तिसम्मको तस्करी थियो । अधिराजकुमारहरूलाई तस्करी गर्नबाट रोक्ने ल्याकत कसमा नै हुन्थ्यो र त्यसबेला !
जस्तो कि २०७६ वैशाख २० गते प्रकाशित नेपाल साप्ताहिकमा पञ्चायतकालको कुनै समय नेपाल म्युजियम छाउनीका हाकिम रहेका हरिराम जोशीले नेपालबाट कसरी प्राचीन मूर्ति विदेश पुग्थे भन्ने खुलासा गरेका छन् । यो त्यतिबेलाको कुरा हो, जतिबेला जोशी नेपाल म्युजियमका हाकिम थिए । साथमा उनका समकक्षी थिए, वारकृष्ण श्रेष्ठ । नेपाल म्युजियमको मुख्य कार्यादेश प्राचीन मूर्ति-वस्तु मालपास गराउने थियो । पुराना मूर्ति विदेश बेच्न पुरातत्व विभाग र नेपाल म्युजियमबाट मालपास गर्नुपर्ने प्रावधान थियो ।
जोशीले २०२३ सालतिरको आफ्नो स्मरण नेपाल साप्ताहिकमा गोकुल अर्यालसँग साझा गरेका छन् । उनले भनेका छन्–मूर्ति मालपास गर्दा एकपटक अनौठो घटना बेहोर्यौं हामी दुईजनाले । एक अमेरिकी महिला ५–६ सय गोटा धातुका मूर्ति विदेश लैजान कार्यालय आएकी थिइन् । हामीले ती अमेरिकी महिलाले ल्याएका मूर्तिमध्ये अधिकांश मालपास गरिदियौँ । केही मूर्ति भने धेरै पुराना भएकाले रोकिदियौँ ।
अमेरिकी महिलाले ल्याएका केही मूर्ति सय वर्षभन्दा पुराना थिए । सय वर्षभन्दा पुराना मूर्ति विदेश निर्यातमा प्रतिबन्ध छ, प्राचीन वास्तुकलासम्बन्धी ऐनमा । हामीले ती महिलालाई यसबारे जानकारी गरायौँ । त्यस दिन उनी मालपास भए/नभएका मूर्तिको खेप गाडीमा हालेर फर्किइन् ।
अर्को दिन हामी दुवै कार्यालयमा काम गर्दै थियौँ । बिहान ११ बजेतिर राजा महेन्द्रका कान्छा भाइ वसुन्धरावीरविक्रम शाह नेपाल म्युजियमको अफिसमा टुप्लुक्क आइपुगे । हामी अक्क न बक्क पर्यौं । के कामका लागि आए होलान् भन्ने जिज्ञासा पलायो ।
खासमा हामीले प्राचीन भनेर मालपास नगरिदिएका मूर्तिको अन्तिम स्वीकृति दिन अमेरिकी महिलालाई सँगै लिएर आएका रहेछन् उनी । ती मूर्ति वसुन्धराकै गाडीमा रहेछन् । गाडीबाट ओर्लिनेबित्तिकै सरासर हामी दुईजनाको कार्यकक्षमा आएर वसुन्धराले पास नगरिएका ती मूर्ति देखाउँदै भने, ‘यी मूर्तिहरू पास गर्नुपर्यो ।’
दरबारिया शासनको रजगजका बेला हामीले वसुन्धराको आदेश नमान्ने कुरै भएन । दुवै जनाले अमेरिकी महिलाका ती वर्जित मूर्ति विदेश लैजानका लागि खुरुखुरु अन्तिम हस्ताक्षर गरिदियौँ । हामीसँग वसुन्धराका अगाडि ऐन–कानुनको लिखतबारे जानकारी दिने हिम्मत भएन । यसरी वसुन्धराको जोडबलमा प्राचीन मूर्ति बिदेसिए ।
कसरी विदेश पुगे त नेपालका प्राचीन मूर्ति ? प्रश्न उठ्छ । १६ भदौ २०७८ मा हिमाल मासिकमा गौतमवज्र वज्राचार्यले ‘मन्दिरदेखि म्युजियमसम्म’ शीर्षकमा लेखेको टिप्पणीले यो प्रश्नको जवाफतिर संकेत गर्छ ।
त्यसको अंश यस्तो छ–राजा महेन्द्रको पालामा नेपालका कलाकृति पनि विभिन्न अन्तर्राष्ट्रिय संग्रहालयमा सम्मानपूर्वक प्रदर्शित हुन थालिसकेका थिए । तात्कालिक दृष्टिकोण अनुसार, नेपालका लागि यो गौरवको कुरा थियो । नेपाल स्वतन्त्र देशका रूपमा मात्र होइन, आफ्नै कलाकृतिले भरिएको हिमालयको काखमा रहेको सुन्दर देशका रूपमा देशदेशावरमा प्रसिद्ध होस् भन्ने राजा महेन्द्रको मनसाय थियो ।
त्यसैले फिलाडेल्फिया म्युजियम अफ आर्टका सिनियर क्युरेटर स्टेला क्राम्रिसले नेपाली कलाको पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजनाको प्रस्ताव राख्दा राजा महेन्द्र धेरै खुसी भए । देश बाहिर हुने प्रदर्शनीका लागि नेपालका कलाकृतिहरू केही समयका लागि मुलुक बाहिर लैजाने अनुमति पाउन केही गाह्रो भएन ।
सन् १९६४ मा भएको यो प्रदर्शनीले गर्दा नेपाली कलाको महत्त्व बढ्यो र ठूलठूला म्युजियमहरू मात्रै होइन, व्यक्तिगत संग्रहालयहरूमा पनि नेपाली कला संग्रह गर्ने होडबाजी चल्यो । यसरी नेपालले नाम कमाएको देख्दा राजा अवश्य पनि प्रसन्न थिए ।
राजाले चिताएजस्तो नेपालको कलाकृतिले अन्तर्राष्ट्रिय सम्मान त पायो, तर नेपाली कलाको पहिलो प्रदर्शनी भएदेखि नै नेपालमा मूर्ति चोरी बढ्दै गयो । अवश्य पनि यस्तो भने (महेन्द्रले) चिताएका थिएनन् । तर, महेन्द्रले आफ्नै कान्छा भाइ र वीरेन्द्रले आफ्ना काका वसुन्धरालाई नेपालका प्राचीन मूर्ति विदेशी धनाढ्यको बैठक कक्षसम्म तस्करी गर्नबाट किन रोक्न सकेनन् ? प्रश्न त उठ्छ नै ।
हेर्नुहाेस् भिडियाे :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।