logo-img

टोकन प्रणाली सुरु भएसँगै भीड व्यवस्थापनमा सहज

भरतपुर अस्पतालमा बहिरंग (ओपिडी) सेवाको टिकट लिन लामो समय लाइनमा उभिनुपर्ने समस्या समाधान गर्न अस्पतालले टोकन प्रणाली सुरु गरेको छ । भीड व्यवस्थापनसँगै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

हरेक दिन बिहान ६ बज्नुअघि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा कृष्णप्रसाद पौडेल अस्पताल प्रवेश गर्छन् । त्यसपछि अस्पतालमा एक फन्को लगाएउँछन् र उनी बिरामीको भीड व्यवस्थापन गर्नतर्फ लाग्छन् ।

मेसु पौडेलले आफूसँगै भीड व्यवस्थापनका लागि अस्पतालका सुरक्षाकर्मीलाई सक्रिय बनाउँछन् । सुरक्षाकर्मीलाई काम लगाउन अस्पतालका कर्मचारी अजेस सुवेदीले साथ दिन्छन् । मेसु प्रा‍.डा पौडेल बिरामीको घुइँचोलाई व्यवस्थापनमा बिहानको समय खर्चिन्छन् ।

अस्पतालमा ओपिडी सेवाको टिकट लिन टोकन प्रणाली सुरु गरेसँगै बिरामीले आफ्नो पालोमा टिकट लिने र परीक्षण गर्न थालेकाे मेसु पौडेलले बताए । यसले भीड व्यवस्थापन हुनाका साथै बिरामीले केही सहज भएको उनको भनाइ छ ।

टोकन लिने समयमा बस्नका लागि केही ठाउँको व्यवस्थापन गरिएको छ । पहिले टिकट लिन झण्डै एक घण्टा लाइनमा उभिनुपर्नेमा अहिले टोकन लिएपछि १० मिनेट पनि उभिनुनपर्ने मेसु पौडेलले जानकारी दिए । प्रा.डा पौडेलले भने, ‘टोकन लिएपछि एक सयभन्दा बढी बिरामी बस्न मिल्ने ठाउँ बनाएका छौँ । टोकनको पालो आएपछि काउन्टरमा गएर टिकट लिए पुग्छ ।’

उनका अनुसार बिदाको भोलिपल्ट अस्पतालमा एकै दिन दुई हजार सात सय भन्दाबढी बिरामी आएको तथ्यांक छ । बिहानदेखि ओपिडी सेवामा बिरामी आउने गर्दछन् । अस्पतालले बिरामीको घुइँचो भएपछि बहिरङ्ग सेवालाई विविधिकरण गरेको छ ।



बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टर सञ्चालन गरेको छ । जहाँ ७ बजेदेखि ९ बजेसम्म दीर्घरोगी, जेष्ठ नागरिकलगायत बिरामीलाई सामान्य परीक्षण गरेर औषधि थप गर्ने गरिन्छ ।

‘बिहान ८ बजेदेखि १२ बजेसम्म विशेषज्ञसहित सबैका लागि बहिरङ्ग टिकट खुल्ला हुन्छ । यहाँ ९ः३० बजेदेखि ४ बजेसम्म परीक्षण हुने गर्दछ ।  पुनः १ देखि २ बजेसम्म इएसएस, डेण्टल र जनरल ओपिडि (जिओपिड)का लागि टिकट काउन्टर खुल्ला रहन्छ । यी सेवा पाँच बजेसम्म लिन सकिन्छ’, डा पौडेलले भने, ‘समग्रमा हामीले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तीन सिफ्टमा सेवा दिएका छौँ ।’



अस्पतालमा पछिल्लो समय एमआरआई सेवा थप गरिएको छ भने क्याथल्याब खरिदका लागि बोलपत्र आह्वान भइसकेको पौडेलले जानकारी दिए । उनका अनुसार अस्पतालमा ४० शय्या सघन उपचार कक्ष (आइसियु), २० शय्याको एनआइसियु, छ शय्याको पिआइसियुलगायत अति विशिष्टिकृत सेवा उपलब्ध छन् ।

बिरामीको उच्च चापका कारण कतिपय शल्यक्रियाका बिरामीले लामो समय पालो कुर्नुपर्ने अवस्था हन्त्य नभएको पौडेलले बताए । उनका अनुसार ल्याबकोलीका बिरामीले १४ महिनादेखि पालो कुर्नुपर्नेमा हाल एक वर्षमा झारिएको छ । शल्यक्रिया कक्ष थप गरेर पालो कुर्नुपर्ने समय घटाउँदै लगिने उनले उल्लेख गरे ।

  • प्रकाशित मिति : भदौ १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया