पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । ‘चालू आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् ५ करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो,’ उनले भने ।
भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन् । उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने दाहालको भनाइ छ ।
आगामी कात्तिक÷मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यवसायी दाहालले बताए ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।