logo-img

दसैँ-तिहारमा खाद्य वस्तुको अभाव नहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ-तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्यवस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यावसायिकता भन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे ।

उनले भने, ‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन ।’

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन, निर्यात बढाउन तथा  विषादीयुक्त खाद्यपदार्थ आयात–निर्यात नगर्न आग्रह गरेका थिए ।

उनले नेपालमा फलाम, युरेनियमलगायत खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तीनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानान्तरण गर्न निर्देशन दिए ।



उनले दैलेखमा  पेट्रोलियम पदार्थको उत्खनन कार्य चाँडो सम्पन्न आग्रह गर्दै पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकूल असर पर्ने गाँजा खेतीजस्ता काममा धेरै नहौसिन सुझाए । यसअघि प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ‘ब्रिफिङ’ लिएका थिए ।



  • प्रकाशित मिति : भदौ १६, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया