logo-img

प्रधानमन्त्री ओलीको निर्देशन- दसैँतिहारमा खाद्यवस्तुको सहज आपूर्ति गर्नू
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यावसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे । 

‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन,’ उनले भने ।

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा  विषादीयुक्त खाद्य पदार्थ आयात/निर्यात नगर्न आग्रह गरे ।

उनले नेपालमा फलाम, युरेनियम आदि खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तीनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिन अनुरोध गरे ।

प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानान्तरण गर्नसमेत निर्देशन दिए । 





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया