logo-img

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात बढ्यो
फाइल तस्बिर

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ । 

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए ।  

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाख रुपैयाँका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाख रुपैयाँको ७६ थान मात्र जिप र कार आयात गरिएको छ । भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए । 

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया