धर्मेन्द्र बास्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले पूर्वउपराष्ट्रपति तथा जनमुक्ति सेनाका पूर्वकमाण्डर नन्दबहादुर पुनको घरमा कालो ब्यानर टाँगेकाे छ । माओवादी युद्धका फौजी कमान्डर रहेका र देशकाे उपराष्ट्रपति भएका पुनको सुविधासम्पन्न बंगला निर्माणकाे स्राेतमा प्रश्न उठाउँदै नेकपा बहुमतले ब्यानर टाँगेकाे हाे ।
शनिबार बागमती प्रदेश ब्युरोका इन्चार्ज लालबहादुर बिसी ‘शार्दूल’को नेतृत्वमा गएको टोलीले दहचोकस्थित स्विजरल्याण्ड डाँडास्थित पासाङको निवासकाे कम्पाउन्डमा ब्यानर राखेर विरोध जनाएको हाे । 'भ्रष्टाचारविरुद्ध जनएकता अभियान' नारा लेखिएकाे ब्यानरमा ‘जनयुद्धका फौजी कमान्डर र देशका उपराष्ट्रपति बनेका व्यक्तिको सुविधा सम्पन्न बंगला निर्माण गर्ने स्रोत के हो ? ०४६ यता देशका राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाबका लागि जनसंघर्ष' उल्लेख छ ।
साे पार्टीले माओवादीका अन्य उच्च नेताको निवासमा पनि भण्डाफोर अभियान चलाउने दाबी गरेकाे छ । नेकपा बहुमत गत साउन १ गते मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएर बनेकाे नयाँ पार्टी हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।