घटना–१
साउन २३ मा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भयो । बुधबार (२३ साउन) दिउँसो काठमाडौंबाट रसुवाको स्याप्रुवेशीतर्फ उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो । काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको हेलिकोप्टर तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
उक्त हेलिकोप्टर सूर्यचौरमा दुर्घटना हुँदा उक्त हेलिकोप्टरका पाइलट (नेपाली) अरुण मल्ल र चार चिनियाँ नागरिको मृत्यु भयो । उनीहरू साउन २१ गते पर्यटक भिसामा रसुवा हुँदै नेपाल आएका थिए । चिनियाँहरू नेपालमा टुरिस्ट भिसामै आउने चलन छ । चिनियाँको हकमा नेपाल प्रवेशसँगै १५० दिन बस्न पाइन्छ ।
चारमध्ये एकजनालाई पितृशोक परेको थियो । त्यसैले चारैजना स्याफ्रुबेसी–टिम्मुरे हुँदै चीन जाने योजना बनाएका थिए । तर, उनीहरू गन्तव्यमा पुग्न सकेनन् । चिनियाँ पर्यटक जुवेद ताङ, यियाद ली, जेमदिङ काइ र जाइ ली दुर्घटनास्थलमै बिते ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका चारजना चिनियाँ नागरिक नेपालमा लगानीका क्षेत्र खोज्दै आएका थिए । हेलिकोप्टर दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रलाई मात्रै असर नपुर्याई अन्तर्राष्ट्रिय लगानीमा समेत असर पार्यो ।
घटना–२
७ भदौमा नेपालको तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै मर्स्याङ्दी नदीमा एक भारतीय बस खस्दा त्यसमा सवार २७ जनाको मृत्यु भयो भने १६ जना घाइते भए । मृतक र घाइतेमध्ये अधिकांश भारतको महाराष्ट्र राज्यस्थित जलगाउँबाट तीर्थयात्रामा नेपाल आएका थिए । उक्त बस नेपालको रुपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको थियो । बेलहिया नाकाबाट नेपाल छिरेका उनीहरू सिद्धार्थ राजमार्ग हुँदै ५ भदौ बेलुकी ९ बजे पोखरा आएका थिए ।
ती भारतीय पर्यटकले पोखरामा दुई रात बिताएका थिए । उनीहरू बिहीबार पोखराका मन्दिर दर्शन र फेवाताल घुमघाम गरेका थिए । त्यसपछि पोखराबाट शुक्रबार काठमाडौंतर्फ आउँदै गर्दा आँबुखैरेनीको ऐनापहरानजिकै बस दुर्घटना भएको थियो । दुर्घटनामा परेको बस मर्स्याङदी नदी किनारमा खसेको थियो ।
पोखराबाट उनीहरू पशुपतिनाथ दर्शनका लागि भनेर काठमाडौं आउँदै थिए । काठमाडौंमा २ रात बसेर पशुपति मन्दिरमा दर्शन गर्ने उनीहरूको योजना थियो । भारतको महाराष्ट्रका उनीहरू १ सय २० जनाको संख्यामा नेपाल घुम्न आउने तयारीमा थिए । तर, अन्तिम समयमा ९६ जना मात्रै नेपाल आएका थिए । पर्यटकबाहेक उनीहरूका ८ जना भान्से सहयोगी पनि थिए । सबैगरी १ सय ४ जना थिए ।
दुईवटा ठूला र एउटा मिनि बसमा आएका उनीहरू शुक्रबार बिहानै करिब ६ बजे नै पोखराबाट काठमाडौंका लागि हिँडेका थिए । तीनवटा सवारीमा हिँडेका उनीहरू सवारमध्ये एउटा बस दुर्घटनामा परेको थियो । नेपाल भारतीय पर्यटकका लागि सहज गन्तव्य भए पनि यस्ता दुर्घटनाले भारतीय पर्यटकको नेपाल आगमन प्रभावित भएको छ ।
दुर्घटनाले पर्यटन क्षेत्रमा कस्तो प्रभाव पार्छ ?
माथि उल्लेखित दुई घटना त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता दुर्घटनाबाट बर्सेनि कैयौँ पर्यटकले नेपालमा ज्यान गुमाइरहेका छन् । यस्ता दुर्घटनाले पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने व्यावसायीहरूको भनाइ छ । नेपाल घुम्न आएका पर्यटक नै दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको छ ।
नेपालको हवाई क्षेत्रप्रति अन्तर्राष्ट्रिय बजारको समग्र चासो र चिन्ता रहेको बताउँछन्, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापा । पछिल्लो समय विशेषगरी नेपालको हवाई उडान साँच्चै असुरक्षित हो र भन्ने प्रश्न अन्तर्राष्ट्रिय बजारमा उब्जेको उनको भनाइ छ । ‘पर्यटक नै दुर्घटनामा परेपछि चिन्ता स्वभाविक हो,’ उनी भन्छन्, ‘पछिल्लो समय नेपालमा पर्यटक दुर्घटनाको स्थिति भयावह भन्दै गएको छ । पर्यटन क्षेत्रमा सुरक्षित पहुँच आवश्यक पर्ने भए पनि बारम्बारका दुर्घटनाले पर्यटकलाई नेपाल आउनमै झस्काउने अवस्था छ ।’
बारम्बारका यस्ता दुर्घटनाले नेपाल नै असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलिँदा गएको उनी बताउँछन् । तुलनात्मक रूपमा व्यस्त र विदेशी पर्यटकहरू बढी हिँडडुल गर्ने सडकहरूमा बसलगायत ठूलाखाले गाडीहरू दुर्घटनामा परेको देखिन्छ । साथै सहज यात्राका लागि हवाई क्षेत्र रोज्दा पनि बारम्बार दुर्घटना भइरहन्छन् । त्यस कारणले पनि नेपालमा पर्यटन क्षेत्रका लागि अथाह सम्भावना भए पनि धेरै पर्यटक भित्र्याउन नसकिएको तर्क गर्छन्, नाट्टाका अध्यक्ष थापा ।
नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनामा चिनियाँ पाहुना परेपछि नेपालप्रति चिनियाँको हेर्ने नजर फेरिएको छ । चिनियाँ पर्यटन बजार सानातिना घटनाबाट पनि प्रभावित हुन्छ । हेलिकोप्टर दुर्घटनामा आफ्ना नागरिक गुमाउँदा चिनियाँ बजार अलिक बढी नै डराएकाले अब चिनियाँ पर्यटकको संख्यामा कमी आउने उनको भनाइ छ । ‘चिनियाँ पाहुना अन्तकाको तुलनामा बढी नै संवेदनशील हुन्छन्,’ उनी भन्छन्, ‘चिनियाँ पाहुनाको भित्री सञ्जाल यतिसम्मको बलियो हुन्छ कि कुनै घटना परिस्थितिले सहजै प्रभावित पार्छ । साना घटनाले पनि चिनियाँ बजार तर्सिन्छ ।’
त्यसमाथि चिनियाँ पर्यटक हेलिकोप्टरमा यात्रा गर्न रुचाउँछन् । हेलिकोप्टर दुर्घटनामा तिनै चिनियाँ परेपछि नेपालको हवाई क्षेत्रप्रति नरात्मक सन्देश जाने उनको बुझाइ छ । हवाई दुर्घटनाले चिनियाँ पर्यटकलाई बढी प्रभाव पारेको छ भने बस दुर्घटनाले भारतीय पर्यटकलाई प्रभाव पारेको छ ।
‘पर्यटकीय सिजनको मुखमा एकपछि अर्को ठूला दुर्घटना भइरहेका छन्,’ नाट्टाका अध्यक्ष थापा भन्छन्, ‘यसलाई चिर्न सरकारले बेलैमा ध्यान दिनुपर्छ । आगामी दिनमा घटना हुन नदिन सरकारले उचित कदम चालेको सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्छ ।’
नेपाल पर्यटकको सुरक्षाका लागि त्यति राम्रो रेटिङ पाएको देश त होइन । तर, ज्यादै असुरक्षित क्षेत्र पनि होइन । नेपालमा पर्यटक सुरक्षित हुन्छन् अर्थात् निर्बाध रूपमा घुमफिर गर्न सक्छन् भन्ने सन्देश विश्वमाझ पुगेको छ । त्यसैले धेरै देशका नागरिकको रोजाइमा पर्छ । तर, पछिल्लो समय एकपछि अर्को ठूला–ठूला दुर्घटनाले पर्यटन क्षेत्रमा प्रभाव पार्न थालेको उनको भनाइ छ ।
विश्व उड्डयनको संस्था आइकाओले नेपालको हवाईको सुरक्षा रेटिङलाई औसतभन्दा राम्रो रहेको भनी प्रतिवेदन सार्वजनिक गरिसकेको छ । तर, युरोपेली संघले भने अझै कालोसूचीबाट हटाएको छैन । कालोसूचीमा रहेकाले नेपाल वायुसेवा निगमले युरोप उडान गर्न सकेको छैन । जसले गर्दा यूरोपेली मुलुकबाट पर्याप्त पर्यटक नेपाल आउन सकेका छैनन् ।
यस्तोमा नेपालमा एकपछि अर्को ठूला हवाई दुर्घटनाले कालोसूचीबाट तत्काल हट्ने सम्भावनामा कमी आएको उनी बताउँछन् । नेपाल आउने पर्यटकमध्ये हवाई मार्गबाट आउने बढी खर्चालु हुन्छन् । यो क्षेत्र नै असुरक्षित भएको सन्देशले पर्यटक आगमनमा स्वाभाविक रूपमा कमी आउँछ ।
पछिल्लो समय हवाई मात्र होइन, नेपालको सडक पनि सुरक्षित नरहेको सन्देश प्रवाह भइरहेको छ । यसले आज मात्र होइन, दीर्घकालीन असर गर्ने उनको भनाइ छ । ‘हुन त पर्यटक केही चुनौती सामना गर्न तयार हुने व्यक्ति नै हुन्,’ उनी भन्छन्, ‘हवाई दुर्घटना भनेको नेपालमा मात्रै हुने होइन । तर, हाम्रै कारणले पटक–पटक दुर्घटना भइरहेको छ । कोही पनि जानी–जानी बलेको आगोमा हामफाल्न चाहँदैनन् ।’
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले नेपाल घुम्न विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालका विभिन्न ठाउँ राखेको भए पनि हवाई र सडकयात्रा सुरक्षित नहुँदा नेपाल आउने पर्यटकलाई मानसिक रूपमा असर गर्नुका साथै नेपाल भ्रमणबारे पुनर्विचार गर्ने मनसायसम्म पुग्छन् । त्यसैले दुर्घटना भवितव्य भए पनि सरकारले नेपाली आकाश सुरक्षित छ, पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिने गरी अन्तरराष्ट्रिय जगत्लाई विश्वासमा लिन कूटनीतिक पहल थाल्नुपर्ने उनको भनाइ छ ।
देशको सडक र हवाई यातायात व्यवस्था र प्रणालीमै खराबी छ भन्ने सन्देश विदेशीमाझ गएमा यसले नेपाली पर्यटनलाई दूरगामी र दीर्घकालीन असर पर्न सक्छ । त्यसैले चाँडै यस विषयमा सरकार सचेत बन्न जरुरी छ ।
पर्यटक आगमनको अवस्था
कोरोनापछि नेपाली पर्यटनले लय समातेको छ । पछिल्लो ८ महिनामा ७ लाख २० हजार ३३४ पर्यटक नेपाल आएका छन् । अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका अनुसार जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा १ लाख ११ हजार ३ सय ७६, मेमा ९० हजार २ सय ११ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै, जुनमा ७६ हजार ७ सय ३६, जुलाईमा ६४ हजार ५ सय ९९ र अगष्टमा ७२ हजार ७ सय १९ जना पर्यटक नेपाल भित्रिएका हुन् ।
यस्तै, सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल घुम्न आएका थिए । यस्तै, सन् २०२२ मा ६ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिँदा सन् २०२० मा २ लाख ३० हजार पर्यटक भित्रिएका थिए ।
के गर्दै छ सरकार ?
सरकारले एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनाबारे छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठित ३ सदस्यीय जाँचबुझ आयोगको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत छन् । उक्त समितिलाई ३० दिनको समयसीमा तोकिएको छ । छानबिन अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनामा चारजना चिनियाँ नागरिकको मृत्यु भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बारम्बार सवारी, जहाज, हेलिकोप्टर दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रलाई मात्रै असर नपुर्याई अन्तर्राष्ट्रिय लगानीमा समेत असर पारेको बताए ।
यसबारे उनले समग्र समस्या समाधान गर्न के–कस्ता नीतिगत व्यवस्था गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताए । ‘कानुनमा कहाँकहाँ त्रुटि छन् ? नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले किन नियमन गर्न सकेको छैन भन्ने विषयमा पनि छलफल भइरहेको छ,’ उनी भन्छन्, ‘समग्र समस्या समाधानका लागि कानुनी सुधारको बाटो खोजिन्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।