logo-img

डेंगुका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० जनामा संक्रमण

देशभरि डेंगुका बिरामीको संख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवारोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको संक्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा फैलिएकाे छ । 

महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । यस्तै तीनजना डेंगु रोगको संक्रमणको कारणले निधन भइसकेको छ । 

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेंगु रोग लाग्दछ । 

गण्डकी प्रदेशमा सबभन्दा बढी

डेंगु सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना संक्रमण देखिएको छ । 

उपत्यकामा छ सय ८० 



काठमाडौं उपत्यकामा छ सय ८० जनामा डेंगु संक्रमण देखिएको छ । जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेंगु संक्रमण देखिएको छ । 

वर्षाका बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको संक्रमण बढेको हो । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेंगु रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

हैजा ७५ जनामा 

यस्तै, महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् ।  महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. दाहालका अनुसार ललितपुरमा ५० काठमाडौंमा १० जना, कैलालीमा आठजना, प्युठान दुई, मकवानपुर एक र रोल्पामा चारजनामा हैजा पुष्टि भएको छ । 

हैजा अति संक्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।

  • प्रकाशित मिति : भदौ १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया